उनीहरू भात पकाइरहेछन्....

अनिता लामा

काठमाडौं

मानव सेवा आश्रम, बिहानै ५ बजेको उज्यालोदेखि खाना पकाउने क्रम शुरू हुन्छ। जसका लागि करीब एक दर्जन स्वयंसेवक खटिएका छन्। आश्रममा आश्रय लिएका परिवारले पनि सहयोग गर्छन्।

उनीहरू भक्तपुर कौशलटारस्थित आश्रमबाट बिहान ९:३० बजे करिब ३०० लाई पुग्ने खाना लिएर नयाँ ठिमी (शंखध्वर चोक) मा पुग्छन्। जहाँ ६०–८० जनासम्मले खाना खान्छन्।

सामाजिक दूरी कायम राखेर खाना राखिदिने, खुवाउने क्रम हुन्छ। दाल, भात, तरकारी अचार, तारेको पापड हरेक दिनको मेनु। थपि थपि टन्न खाने, खुवाउने, पिउने पानीसमेत पिलाउने र खाइसकेपछिको प्लास्टिकको थाल र चम्चाको उचित तह लगाएर आश्रमको टोली भक्तपुर क्यानसर अस्पतालतर्फ हिँड्छ। त्यहाँ करिब १००–१२० जनालाई खाना खुवाइन्छ।

अस्पतालका बिरामी कुरूवाहरू मात्र नभई बिरामीका लागि समेत, थाल, कचौरा, टिफिन बोकेर कुरुवाहरू खाना थाप्न आउँछन्। यो देखेर मन असाध्यै भक्कानियो।

त्यसपछि टोली सूर्यविनायक चोकमा पुग्यो। चोकमा गाडी पुग्नासाथ खाना कुरेर अगाडिदेखिनै बसेकाहरू पंक्तिबद्ध थिए। सूर्य विनायक चोकको अर्को रौनक थियो, त्यहाँको स्थानीयबासी। मनकारी स्थानीयबासीहरू खाना खुवाउन आएका आश्रमका स्वयंसेवकसँगै काम गर्थे, पंक्तिवद्ध बनाउने, हात धुने र पिउने पानीको व्यवस्थापन गरिदिने, फोहोर संकलनको व्यवस्थापन गरिदिने र दाल, चामल, तिहुन् तरकारीहरू बोराभरि बाँधेर आश्रम परिवारलाई दिने गर्दा रहेछन्। खाना खुवाउनुपर्नेखालको मानिसहरूको पहिचान गरिराख्ने, को आयो, को आएनन् याद गर्ने। कति राम्रो, कति समर्पण कति तत्पर स्थानीयबासी।

मानव सेवा आश्रमको सेवाभावलाई यो सदासयता निकै अमूल्य थियो। सूर्य विनायक चोकमा पनि ८०–१०० जनाको हाराहारीमा खाना खान आउने र भाँडा लिएर खाना लिन आउने गरेको देखियो।

लकडाउनभरी बिहान ९:३० बजेदेखि र साँझ ५:३० बजेसम्म यसरी दैनिक ३०० तथा सो भन्दा बढीलाई पेट भरि खाना खुवाउने क्रम निरन्तर चलिरहेको २६ दिन भइसकेको छ।

‘लकडाउनको समयमा देशैभरि मानव सेवा आश्रममा आश्रीत परिवारका लागि खाद्यान्न जुटाउनु निकै चुनौतिको कुरा हो। तर पनि आँट गर्नुपर्छ, पूरा हुन्छ’, आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘आश्रम सुरु गर्दा पनि यस्तै भएको थियो। आज सबैको प्रेरणाले धानिरहेका हौ, हामी त माध्यम मात्रै हौं।’

दैनिक मजदुरी गरेर खानेहरू, विशेष गरी देशका विभिन्न ठाउँबाट उपचारका लागि आउने बिरामी र तिनका कुरूवालाई खानाको समस्या हुने बुझेर उनीहरूलाई खाना खुवाउनुपर्छ भन्ने लागेपछि कार्यक्रम सुरू गरेको अधिकारीले बताए।

जीवनको बैंसालु उमेर, रहरहरूले घेरा हाल्नुपर्ने समय, मोबाइल तथा ग्याजेटमा घोप्टिएर गेम खेल्न, फिल्म हेर्ने, टिककट बनाउन, यूट्यूवमा झुम्मिने अहिलेका छोराछोरीहरूका लागि गोल्डेन समय भएको छ। लकडाउनको समयमा त झन् स्कुल कलेजसमेत बिदा भएपछि अरू के चाहियो र, समय पूरै आफ्नै झैं गर्छन्।

तर मानव सेवा आश्रममा स्वयंसेवा गरिरहेका कलिला स्वयंसेवक भाइबहिनीलाई देख्दा लाग्छ सेवाको रूपमा यीनीहरू कुनै महत्वपूर्ण दूत हुन्। रहरमा रमाउने आदत नबसेका, घर, परिवार नातागोताको प्रेमलाई टाँसेर आश्रयविहिनलाई प्रेम, सम्भार दिने हृदय भएका, सडक, गल्ली, शहरबजार, कुनाकाप्चा सर्वत्र सहाराबिहीनको खोजी खोजी सहारा बनिदिने चौंडा छाति बोकेका यी भाइबहिनीको विनम्रताले पहिलोपटक भेट्दा नै पुलकित बनाउँछ।

सँधै आदरार्थी, सँधै सविनयी, सँधै मुस्कुराहट, सँधै समताभाव अनुहारमा लिपेर हिँड्ने आश्रमका स्वयंसेवकहरू देखेपछि जीवनमा आफूले स्वीकारेका अरू सबै रङ्गहरू फिक्का लाग्छ र यिनका लागि हृदयभित्रैबाट समर्पणको नदी बग्छ, यो मेरो अनुभव हो।

मुलुकभरका आश्रममा गरि करिब ११०० आश्रीत परिवारलाई सयौंका संख्यामा स्वयंसेवक निःश्वार्थपूर्वक सेवामा खटेका छन्।

‘सबै सिकाई र उपलब्धि यही सेवा हो। परमभक्ति पनि यही हो, हजुरहरुको प्रेरणा हो’, आफ्नो कान्ति सुलभता सहित आश्रमका अभियन्ता उपत्यका संयोजक सुमन बर्तौलाले बताए।

छहारी भवन बूढानिलकण्ठः

एक पूर्व सैनिक, अर्को डाक्टर, अर्को विद्यार्थी । अनि कोही स्थानीयहरू। सबैजना व्यस्त छन् । कोही भात चलाउँदैछन्, कोही तरकारी केलाउँदै छन्। कोही पाकेको बान खनाउँदै अर्को बानका लागि भाँडा माझ्दैछन्। कोही सरसफाइ गर्दैछन्, कोही तरकारीको डङ्गुरमा तरकारी छान्दै छन्, कोही प्राप्त भएको खाद्यान्न, तरकारीहरूको लगत टिप्दैछन्। यो दृश्य हो काठमाडौंको बूढानिलकण्ठ नगरपालिका हात्तिगौंडास्थित एकल महिला समूह, छहारी भवनको।

यहाँ हिजो आज यसरी नै दैनिक दाल/भात पाक्छ खान असाध्यै समस्या भएका ७० जनाको विवरण तयार गरी आफ्नै बलबुतामा खाना खुवाउन सुरू गरेको यो क्रमले १९ औं दिनमा आइपुग्दा एक हजार नाघेको छ।

‘यतै आसपासमा बस्ने दैनिक मजदुरी गरिखाने परिवारलाई लक्षित गरेर खाना खुवाउँ भन्ने लाग्यो र स्थानीय सामाजिक अभियन्ता प्रदिप डंगोलसँग छलफलपछि काम सुरु गर्‍यौं, आफैंले सरसामान जम्मा गर्‍यौं’,  छहारी भवनको सञ्चालक एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले भनिन्, बिस्तारै खाने संख्या बढ्न थाले र छहारी भवनसम्म खाना खान आउन समस्या भएका केही टाढा टाढाका पीडितलाई पनि हामीले खाना दिन सुरू गरेका हौ।’

पहिला यति धेरै मानिसलाई कसरी खुवाउने भन्ने चिन्ता भए पनि संस्थालाई अहिले सर्वसाधारणहरू स्वतःस्फूर्त सामान लिएर आउने हुनाले केही समस्या नभएको उनले बताइन्।

‘साँच्चै सोच्ने मात्रै होइन, गर्नुपर्ने रहेछ, धेरै असल मानिसहरु अहिले पनि समाजमा छन्। जसले सकेको सहयोग गरिरहन्छन्’, थापाले सन्तुष्ट मनले भनिन्।

अभियन्ता प्रदिप डंगोलका अनुसार यहाँ तयार भएको खाना विशेष गरी बूढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरूमा स्वयंसेवकको माध्यमबाट पुर्‍याउने गरिएको छ। उनीहरूले स्थानीय वडाका प्रतिनिधिलेसमेत निर्क्यौल गरिदिएको संख्याको आधारमा खाना पुर्‍याइन्छ।

यसरी खाना पाक्ने छहारी भवनलाई बूढानिलकण्ठभित्र सबैभन्दा पहिलो क्वारेन्टाइन सेन्टरको रूपमा उपयोग गर्न उपप्रधान तथा रक्षामन्त्रीको रोहवरमा क्वारेन्टाइन बनाउन दिईएको थियो।

‘क्वारेन्टाइनको लागि उपयोग गर्न सकिने गरी सबै तयारी गरेका थियौं, अहिले पनि सकिन्छ। तर यो सुखद् कुरा त्यसरी क्वारेन्टाइनमा राख्नुपर्ने स्थिति अहिलेसम्म आइपरेन’, लिलीले भनिन्।

आफ्नो छुट्टै काम भए पनि अरूनै केही रमाइलो गरेर समय विताउने ठाउँ हुँदा हुँदै आफू समाजसेवाका लागि यहाँ आएको छड्किँदै गरेको भात मस्काइरहेका डाक्टर र फर्सी काट्दै गरेका विद्यार्थी स्वयंसेवकले भने।

एकल महिला समूहको आफ्नै व्यवस्थित सञ्जाल छ, जसको कारण अभियानलाई विशेष टेवा पुग्ने गरेको छ। विभिन्न स्थानमा तरकारी खेती गरिरहेका महिलाले तरकारी ल्याइदिने, स्वयंसेवा गरिदिने जस्ता काममा विशेष सहयोग पुग्ने गरेको छ।

छहारी भवन यही समूहको कार्यालय हो। जहाँ विविध रचनात्मक, सृजनात्मक काम हुनेगरेको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र, बाँसबारीः

पन्ध्रौं दिन भयो, वैशाख २० गते खाना पकाएर खुवाउन थालेको। पन्ध्रौं दिनमा खटेका स्वयंसेवकसमेत गरी ३६३ जनालाई खाना खुवाएको छ यस सामुदायिक सेवाले।

सामुदायिक प्रहरी सेवा केन्द्र, बाँसबारीको कार्यालय बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र (गंगालाल अस्पताल) को मूल ढोकामै छ। बेला–बेलामा समुदायस्तरको बैठक, छलफलबाहेक अन्य बेलामा शान्त रहने सामुदायिकको यो प्राङ्गणमा आजकल बिहानैदेखि चहलपहल हुन्छ।

स्थानीय अभियन्ताहरू खाना पकाउने तयारीमा अभ्यस्त हुन्छन्। ठूला ठूला भाँडाहरूमा दाल, चामल धुने, तरकारी केलाउने, खाना खानेको विवरण तयार गर्ने, स्वयंसेवकको विवरण तयार गर्ने, सहयोगी मनले दिएको सहयोगको अभिलेख गर्ने काममा व्यस्त देखिन्छन्।

‘हामीले सुरूमा अस्पतालका बिरामी र कुरूवालाई लक्षित गरी ९० जनालाई खाना खुवाउन सुरू गरेका हौ। अहिले बिरामी, बिरामीका कुरूवा, काममा खट्नुपर्ने कर्मचारी र खान समस्या भएका मानिसहरू पनि खाना खान आउँछन्। स्थानीय दाजुभाइहरु स्वयंसेवा गर्न आउँछन्,’ स्थानीय अभियन्ता तथा सामुदायिक सेवाका सचिव शीतल बस्नेतले भने, ‘मनकारीहरूले खाद्यान्न तथा नगद सहयोग गरिरहेका छन्। यदाकदा तेल मसला, तरकारी र ग्याँस किन्नुपरिरहेको छ।’

 

यहाँ बिहान १०:०० बजेदेखि खाना खुवाउने क्रम सुरू हुन्छ। सामाजिक दूरी राखेर खाना वितरण तथा खुवाउने काम भइरहेको बस्नेतले बताए।

अस्पताल केन्द्रित गरेर खाना खुवाएको हुनाले खाना खाने बिरामी तथा बिरामी कुरूवाको नाम, बेड नम्बरसमेत खुलाई विवरण अपडेट गर्ने गरेको उनले बताए।

अन्यको हकमा पनि नामावली विवरण उठाउने गरिन्छ। यहाँको यो अभिलेख राख्ने व्यवस्थाले गर्दा सही मान्छेले नै खाना खान पाएको देखियो। स्थानीय बासीन्दाको स्वतस्फूर्त परिचालन तथा प्रहरी बीचको सहकार्य र अन्तरघुलन बहुत सुन्दर देखियो।

र अन्तमा, मान्छेले बोकीहिँड्ने जातीय, क्षेत्रीय, वर्गीय, कूल, सम्प्रदाय, पेशा, हैसियत जस्ता विभेदकारी पदवी र आडम्बरलाई जित्नसक्ने सबैभन्दा माथि केही कुनै तत्व छ भने त्यो मृत्यु रहेछ।

जन्मँदै कोही विभेदको रङ्गमा कोही वैभको रङ्गमा तैरनुपर्ने मान्छेलाई अझ भनूँ सारा विश्वलाई मृत्युको त्रासदी र सत्यलाई यति नजिकैबाट बुझाएको छ यो कोरोना महामारीले। त्यसैले आउनुस् मानव सभ्यताका लागि हामी सबै यो महामारीका विरूद्ध एक बनौं। मानव मनले एक अर्कालाई सहयोग गरौं। जय मानवता!

प्रकाशित मिति: : 2020-05-03 17:53:54

प्रतिकृया दिनुहोस्