रौतहटमा कोरोना संक्रमण पुष्टि भएका दुई जनाको सम्पर्कमा आएका सबै जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । परिवार र सम्पर्कमा आएका ४६ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरेले बताए ।
मंगलबार वृन्दावन र देवाहीगोनाही नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा अन्य व्यक्ति पहिचान गरी सबैलाई क्वारेन्टाइनमा राखेर मंगलबार नै केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएको टाेलीले स्वाब संकलन गरिएको थियो ।
‘संक्रमित दुवै जनाको सम्पर्कमा आएका सबैको नेगेटिभ नतिजा आयो,’उनले भने, ‘एकजना क्वारेन्टाइनमा बसेर घर गएकाले डराएका थियौ । तर उनको परिवार र सम्पर्कमा रहेकाहरुको टेस्ट पनि नेगेटिभ आयो ।’
क्वारेन्टाइनमा राखिएकाहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै राख्ने वा घर जान दिइने भन्नेबारे चिकित्सकसँग सल्लाह गरेर निर्णय लिने प्रजिअ घिमिरेले बताए ।
वृन्दावन ९ का २४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएपछि उनका श्रीमती, दुई छोरी, भाइ , घर बनाउने मजद्र, गहु झार्न प्रयोग गरेको थ्रेसर चलाउने मजदुर गरी १७ जनालाई चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेनटाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेर घर गएको दस दिनपछि उनमा कारोनाको संक्रमण देखिएको थियो।
त्यस्तै देवाहीस्थित करुनियाका ३५ वर्षीय संक्रमित क्वारेन्टाइनमै थिए । उनका आफन्त र सम्पर्कमा रहेका ९ जनाको स्वाब निकालेर टेस्टका लागि पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको प्रजिअ घिमिरेले जनाए।
दुवै जना भारतबाट लकडाउनकै बेला चोरबाटो हुँदै नेपाल छिरेका थिए । जिल्लामा हालसम्म तीन जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । ईशनाथका १९ वर्षीय युवक उपचारपछि निको भएर भएर घर फर्किसकेका छन् ।