अमेरिकी विदेशमन्त्रीकाे आँकलन: उत्तर कोरिया कोरोना महामारी वा भोकमरीबाट अति समस्याग्रस्त छ

अमेरिकाले उत्तर कोरिया कोरोना भाइरसको महामारी वा भोकमरीबाट अति समस्याग्रस्त भएको हुन सक्ने भन्दै चासो व्यक्त गरेकाे छ।

उत्तर कोरियाका नेता किम जोङ उन वुन्सानमा रहेको रिसोर्टमा आफूलाई कोरोनाको संक्रमणबाट जोगाउनका लागि बसिरहेको दाबीसहितका खबर आएपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चासाे ब्यक्त गरेका हुन्।

कोरोनाको महामारीका कारण जनवरीको अन्त्यतिर उत्तर कोरियाले आफ्ना सबै सीमा बन्द गरेको थियो।

फक्स न्यूजसँग अमेरिकी विदेश मन्त्री पोम्पेओले भने,‘उत्तर कोरियामा हाल भोकमरीको संकट उच्च रहेको र खाद्यान्नको अति अभाव हुन सक्ने जोखिम पनि छ।’

उत्तर कोरियामा सन् १९९० को दशकमा फैलिएको गम्भीर भोकमरीका कारण सयौँ हजार मानिसको मृत्यु भएको दाबी गरिन्छ।

किमलाई हालका दिनमा अमेरिकाले देखेको छैनः विदेशमन्त्री पोम्पेओ

उत्तर कोरियाका नेता किम जोङ उनलाई पछिल्लो केही दिनयता नदेखेको र विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्।

‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन। हामीले नजिकबाट नियाली रहेका छौँ।’

नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन्। नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन्।

त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ। कतिले उनकाे निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन्। तर उत्तर कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका छन्।

विदेशमन्त्री पोम्पेओले किम बारे तत्कालका लागि केही जानकारी नरहेको बताए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए। ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए।

गएको हप्ताको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो। सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन।
 

प्रकाशित मिति: : 2020-04-30 07:50:00

प्रतिकृया दिनुहोस्