'के पी ओली फण्डा मास्ट र हुन्। उनलाई फण्डामा कसैले जित्दैनन्। हेर्नुहोस् उनले यसपटक पनि कुनै न कुनै फण्डा निकालेर अरूलाई हिस्स पारिदिन्छन्।'
यो भनाइ हो नेकपा नेता प्रदीप नेपालको। कोकेदेखि माले हुँदै एमालेसम्म ओलीसँग घनिभूत राजनीतिक यात्रा गरेका नेपालले जे भने, यसपटक पनि त्यही भयो ।
अर्थात्, ओलीले फेरि एकपटक एउटा टाट्नो तयार गरे। त्यसमा दुईवटा मायावी डालेघाँस राखिदिए, एउटा प्रधानमन्त्रीको, अर्को पार्टी अध्यक्षको। अनि आमन्त्रण गरे माधव नेपाल र बामदेव गौतमलाई। मंगलबारको सचिवालय बैठककाे मुड हेर्दा यी दुबैजना त्यो मायावी डालेघाँस खान टाट्नातिर मुख तेर्स्याइसकेका छन्। वैशाख २० सम्म उनीहरू त्यो टाट्नामा पुग्छन् कि पुग्दैनन् ? त्यो हेर्न बाँकि नै छ।
हुन त के पी ओलीको टाट्नोमा मायावी डालेघाँस हालेर वामदेवलाई बाँध्न खोजिएको यो पहिलोपटक हैन, यसअघि दुईदुईपटक डालेघाँस हालेर बाँध्ने काम नै भैसकेको छ। पहिलोपटक, ओलीले पार्टी महाधिवेशमा डालेघाँस हालेर माधव नेपाललाई किनारा लगाए। दोस्रोपटक, संसदीय दलमा अर्को डालेघाँस हालेर झलनाथ खनाललाई किनारा लगाए। दुबैपटक ओलीले हालेका डालेघाँस मायावी सावित भयो, उल्टै ओलीबाट अपमानित र लाञ्छित हुनुपर्यो बामदेवले । तर पनि चेतेनन् बामदेव, फेरि अर्को लटको घाँसतिर मुन्टो बटार्न थालेको संकेत मिलेको छ।
यसपालि त ओलीबाट पटक-पटक लाञ्छित र प्रताडित माधव नेपाललाई पनि अध्यक्षको डालेघाँस हालिएको छ। विधि र प्रक्रियाको कुरा गर्ने नेपाललाई पनि यो मायावी डालेघाँस प्यारो लाग्छ कि लाग्दैन, त्यो पनि हेर्न बाँकि छ। तर, मंगबलारको सचिवालय बैठकमा नेपालको बडी ल्याङ्वेज हेर्दा उनले पनि आफ्नो थुतुनो टाट्नातिरै तेर्स्याएजस्तो देखिन्छ।
ओलीले गरेका यी र यस्तै कसरत हेर्ने हो भने सत्ता जोगाउनका लागि उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिस बनिबनाउ देखिन्छ। यी प्रस्तावहरूको आधार मान्ने हो भने नेकपा भनेको कुनै विधिले चल्ने पार्टी हैन, ओलीको खुद्रा पसल हो भन्न नसकिने आधार भेटिदैन।
यसपाली त ओलीबाट पटक पटक लाञ्छित र प्रताडित माधव नेपाललाई पनि अध्यक्षको डालेघाँस हालिएको छ। विधि र प्रक्रियाको कुरा गर्ने नेपाललाई पनि यो मायावी डालेघाँस प्यारो लाग्छ कि लाग्दैन, त्यो पनि हेर्न बाँकि छ। तर, मंगबलारको स्थायी समितिको बैठकमा नेपालको बडी ल्याङ्वेज हेर्दा उनले पनि आफ्नो थुतुनो टाट्नातिरै तेर्स्याएजस्तो देखिन्छ।
हुन त यो नेकपा भित्रको आन्तरकि कुरा हो, जसलाई प्रधानमन्त्री बनाए पनि हुन्छ भन्नेहरू पनि छन्। एक हदसम्म यो कुरा सही पनि हो। तर, अब यो विषय नेकपाभित्रको आन्तरिक कुरा मात्र रहेन। यो संविधान संशोधन वा उपनिर्वाचन हुदै संसदीय चुनाव र प्रधानमन्त्री बनाउने कुरासम्म तानिएकाले मुलुक र जनतासँग पनि प्रत्यक्ष जोडिन पुग्यो। योसँगै मुलुकको स्थायित्वको प्रश्न पनि जोडिन्छ। र, एउटा मान्छेका लागि मुलुक र जनताले कतिसम्म प्रताडित हुनुपर्ने भन्ने कुरा पनि हुन्छ।
मंगलबारको परिदृश्यले यस्तो देखाए पनि शनिबार हुने भनिएको सचिवालय बैठकमा फरक दृश्य पनि देख्न सकिन्छ। अहिलेका लागि ओलीले टाट्नो र दुई थान मायावी डालेघाँस मात्र तयार पारेका हुन्। ओलीका टाट्नामा मायावी डालेघाँस मात्र हुन्छन् भन्ने सत्य बुझ्दाबुझ्दै पनि गौतम र नेपाल टाट्नातिर लाग्छन् कि लाग्दैनन् ?, त्यो हेर्न बाँकि नै छ।
अहिले त सत्ताको फोहोरी खेल जारी छ। कस्ले गोल गर्ने हो ? अहिले नै भन्न सकिने स्थिति छैन। तर, ओली फाउलका राजा भएकाले उनले जसरी पनि जित्ने तानाबाना बुनिसकेको जस्तो देखिन्छ। थर्ड अम्पायरलाई समेत मध्यरातमा बासस्थानमा बोलाएर उनले थर्काइसकेको यथार्थ सबैका सामु जगजाहेर छ।
नेपालमा अहिले लोकतान्त्रिक व्यवस्थाका लागि आवश्यक सबै कुरो छ। नभएको छ भने त्यो एउटै कुरा छ, ओली कार्यशैली। आफ्ना लागि जे पनि गर्न तयार हुने 'म नै राज्य हुँ' भन्ने जुन सोच ओलीमा छ, त्यो नेपाल र नेपाली जनताका लागि हितकर छैन। योभन्दा पनि खराब कुरा के छ भने ओली यो सत्य स्वीकार गर्नै तयार छैनन्। हुँदाहुँदा अब त पार्टी फुटाउन सांसद अपहरणको योजना बनाएको आरोपसम्म लागिसक्यो। यो आरोपमा आफू फस्ने सम्भावना देखेर नै हुनुपर्छ, उनले न प्रहरीलाई उजुरी दर्ता गर्न दिएका छन् न सरकारी वकिललाई। उनी सत्ताको दुरूपयोग गर्दै उजुरी दर्ता गर्नसम्म दिइरहेका छैनन्। यसले कानुनी राजको खिल्ली उडाएको मात्र छैन, अन्तर्राष्ट्रिय जगतमा नेपालको घोर अपमान पनि भएको छ।
अहिलेलाई भने ती सबै विषय थाँतिमा छन्, ओलीले टाट्नामा मायावी डालेघाँस हालेका छन्, त्यसमा थुतुनो जोतिन्छ कि जोतिदैन ? त्यो हेर्न बाँकि छ।
(यो लेखकको निजी विचार हो। यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित हुदैन : सम्पादक।)