काेराेना भाइरस संक्रमणकाे डरका कारण सरकारले विगत एक महिनादेखि जारी गरेकाे लकडाउनले राजधानी काठमाडाैंकाे सडकमा मानिसकाे संख्या मात्र हाेइन, जनावरकाे चहलपहल पनि न्युन देखिन थालेकाे छ। लकडाउनअघि काठमाडाैंकाे चाेक र गल्लीहरु जतात्यतै कुकुरहरुकाे चहलपहल बाक्लाे देखिन्थ्याे। तर यतिबेला जनावरहरुमा सबैभन्दा आज्ञाकारी मानिने कुकुरकाे संख्या न्युन देखिन्छ।
लकडाउनअघि सयाैंकाे संख्यामा एकै ठाउँमा देखिने कुकुरहरु आखिर गए कहाँ? याे सबैका लागि यति बेला काैतुहलताकाे विषय बनेकाे छ। यही सिलसिलामा बिएल नेपाली सेवाले गरेकाे अनुसन्धानमा कुकुरहरु दिनभरी राम्राेसँग खाना खान नपाएर भाेकै निदाउने गरेकाे र बेलुका शितल भएपछि खानाकाे लागि भाैतारिने गरेकाे तथ्य भेटिएकाे छ।
लकडाउनभन्दा अगाडी शहरमा देखिने कुकुरहरु हाेटल, रेस्टुरेन्ट,चमेना गृह तथा मासु पसलहरुमा कुरेर बसिरहेका हुन्थे। उनीहरु पसलेले फ्याकेकाे वा दिएकाे जुठाे खाना खाएर आफ्नाे छाक टार्थे। तर अहिले लकडाउनकाे अवस्थामा यी सबै पसलहरु बन्द छन्। त्यसैले कुकुरहरु पनि याे ठाउँमा हिजाेआज देखिदैनन्।
आम मानिसहरुलाई निकै चासाेकाे विषय भए पनि धेरैले यसलाई नदरअन्दाज गर्दै आइरहेका थिए। तर, अनामनगरकाे घट्टेकुलाे स्थायी घर भएकी ४४ वर्षीय नेहा श्रेष्ठले याे कुरा बुझ्ने प्रयास गरिन् र उनी अहिले आफ्नाे छाेरीलाई स्कुटर हाक्न लगाएर कुकुर बस्ने फरक–फरक स्थानमा पुग्छिन्।
उनी खाली हात ती ठाउँमा पुग्ने गरेकी छैनन्, बिहान–बेलुका दुई समय एक–एक बाल्टिन खाना बाेकेर जाने गरेकी छिन्। लकडाउनकाे बेला किन उनी कुकुरप्रति यत्तिकाे दया देखाइरहेकी छिन्? यस विषयमा उनीसँग साेध्दा भन्छिन्,‘केही वर्षअघि घरमा पालेकाे मेराे कुकुरकाे खुट्टा भाँचियाे। उ त्यति बेला यति पीडामा हुन्थ्याे, त्याे घटना मलाई आज पनि याद छ।’
कुकुरकाे पीडा राम्राेसँग बुझेकी यी गृहणीलाई लकडाउन सुरु भएको केही दिनपछि नै सडकपेटीमा बस्ने कुकुरहरुकाे याद आयाे। त्यसैले उनकाे निकै चिन्ता बढाएकाे रहेछ।
‘बन्द भएपछि सडकमा हिँड्ने कुकुरले कहाँबाट खान पाउने? याे साेचेर नै मैले याे अभियान सुरु गरेकी हुँ।’ उनकाे याे कार्यमा छाेरीले सघाउँदै आइरहेकी छिन्। ‘म घट्टेकुलोबाट छोरीको स्कुटीमा खाना बोकेर बसपार्कदेखि चाबहिल अनि लाजिम्पाट र ठाउँ–ठाउँ पुग्ने गर्छु,’ उनले भनिन्।
प्राणीप्रतिकाे उनीहरुकाे सहानुभूति देखेर सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि उनीहरुलाई बाटाेमा राेक्ने गरेका छैनन्। ‘ट्राफिक दाजुभाईले सहयाेग नगरेकाे भए कसरी सम्भव हुन्थ्याे,’ उनले भनिन्। उनी बाटाेमा हिँड्दा आफ्नाे उद्धेश्य सुरक्षाकर्मीलाई सुनाउँछिन्। उनीसँग हुने खानाकाे बाल्टिनले पनि उनकाे सत्यता बयान गरिरहेकाे हुन्छ।
‘याे महिले कसैलाई देखाउन हाेइन। प्राणीप्रतिको सद्भाव हो। हामीलाई भोक लाग्दा भन्छाै। तर उनीहरु भन्न सक्दैनन्। हामीलाई चोट लाग्दा दु:खे जस्तै उनीहरुलाई पनि दु:ख छ। यो सब मैले भित्री मनदेखि गरेकाे हुँ,’ उनी भन्छिन्।
उनी घरमा बचेको खाना मात्र कुकुरहरुलाई दिन पायाैं भने ठूलाे धर्म हुने बताउँछिन्। उनकी छोरी भेटनरीकी बिद्यार्थी हुन्। उनी आफ्नाे आमालाई सघाउन पाउँदा खुसी लागेकाे बताउँछिन्। ‘मलाई आमाकाे अभियानमा सहयाेग गर्न पाउँदा आनन्द लागेकाे छ,’ छाेरी भन्छिन्।