काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा कम्तिमा २८ जना घाइते भएका छन्।
काठमाडौंबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ । केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
तामाकोसी गापा-३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।