देशभरको मौसम बदली भएको र विभिन्न स्थानमा मंगलबार बिहानैदेखि मेघ गर्जन तथा चट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ।
स्थानीय वायु र पश्चिमी वायुकाको प्रभावका कारण देशभरको मौसम बदली भएको हो। हाल काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा भइरहेको मौसमविद मन्जु बासीले बताइन।
उनका अनुसार अन्य स्थानको तुलनामा प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बर्षा बढी भइरहेको छ। प्रदेश एक र सुदूरपश्चिम प्रदेशमा अहिले मौसम बदली भए पनि पानी त्यति परेको छैन
ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएकाले सतर्कता अपनाउनु पर्ने बताइन्।
धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ।
मौसमविद बासीका अनुसार काठमाडौं उपत्यकाको हकमा अहिले परिरहेको पानी दुई–तीन घण्टापछि रोकिन्छ। तर मौसमी प्रणालीलाई हेर्दा मंगलबार दिउँसो र बुधबारसम्मै पानी पर्ने देखिन्छ। यद्यपि मंगलबारको तुलनामा बुधबार केही कम पानी पर्ने उनको अनुमान छ।