स्थानीय उत्पादित खाद्यवस्तु राहतमा दिने तयारी

बिएल संवाददाता

रूकुम (पूर्व)

जयमान बुढा मगर

पुथाउत्तरगंगा गाउँपालिकाले लकडाउनले मर्कामा परेका विपन्नलाई स्थानीयस्तरमै उत्पादित खाद्यावस्तु राहत दिने तयारी गरेको छन्।

यसका लागि गाउँपालिकाले प्रत्येक वडा कार्यालयमार्फत मकै, जौ, गहुँ, कोदोलगायत स्थानीय उत्पादनबाट हुने खाद्यान्नको लगत संकलन गर्न थालेको छ।

‘विपन्न र ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई स्थानीयस्तरमै उत्पादिन खाद्यान्न वितरण गर्ने योजना कार्यपालिकाले बनाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले भने, ‘त्यसैले स्थानीय उत्पादन खाद्यान्नको मौज्दात के कति छ भनेर घरघरै पुगेर तथ्यांक संकलन भइरहेको छ।’

संघीय सरकारले बनाएको मापदण्डअनुसार राहत वितरणका लागि चामल ल्याउनुका लागि ढुवानी समस्या हुने र स्थानीय किसानले उत्पादन गरेका बजार पाउन नसकेको खाद्यान्नलाई खरिद गरी राहत वितरण गरिने उहाँको भनाइ छ। यहाँ हाल मकै, कोदो लगायतको खाद्यान्न प्रायको घरमा मौज्दात रहेको छ, भने जौ र गहुँ भित्र्याउने तयारीमा छन्।

स्थानीय खाद्यान्नमा स्वास्थ्यकर र पोषकत्व हुनुको साथै अर्कातर्फ स्थानीय उत्पादनले बजार पाउने भएकोले स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताइएको छ। कुन घर र बस्तीबाट कति स्थानीय खाद्यान्न आउँछ भन्ने विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ। अहिल्यै राहत वितरण गर्नुपर्ने अवस्थाको नरहेको भए पनि वडागत रूपमा राहत दिनुपर्ने अवस्थाका घरपरिवारका छन् कि भनेर विवरण संकलन गरिराखिएको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारका लागि विपद्‌कोष पनि तयार पारिएको छ। विपद् व्यवस्थापन कोषबाट कोरोना कोषमा १० लाख र अन्य सहयोगीहरुबाट तथा कार्यान्वयन हुननसक्ने योजनाबाट ३५ लाख राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले बताए। हाल उक्त कोषबाट स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामाग्री, औषधि, क्वारेण्टाइन निर्माण लगायत व्यवस्थापन कार्यमा करिव १२ लाख रुपैयाँ खर्च भएको बताइएको छ।

प्रकाशित मिति: : 2020-04-20 18:55:12

प्रतिकृया दिनुहोस्