कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन्।
मार्च १४ देखि स्पेनका ८० करोड बालबालिका घरमै सीमित रहेका छन्। घरमै सीमित हुँदा उनीहरुको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
प्रधानमन्त्री पेद्रो सान्चेजले अप्रिल २७ देखि लकडाउनलाई केही खुकुलो बनाउने र बालबालिकालाई बाहिरको हावा लिन दिने योजना रहेको बताए। बार्सिलोनाकी मेयर एडा कोलाउले यो हप्ता सरकारसँग बालबालिकालाई केही समय बाहिर निस्कने स्वीकृति दिन अपिल गरेकी थिइन्।
स्पेनमा कोरोना भाइरसबाट २० हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै २ लाख जनामा संक्रमण पुष्टि भएको छ। स्पेनमा शनिबार एकै दिन ५ सय ६५ जनाको मृत्यु भएको छ। केही दिनयता स्पेनमा दैनिक मृत्यु हुनेको संख्या घट्दै गएको छ।
प्रधानमन्त्री सान्चेजले शनिबारको पत्रकार सम्मेलनमा महामारी नियन्त्रणउन्मुख भएको बताएका छन्। तर पनि अझै जोखिम भने रहेको उनले बताए।