अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिएका छन् ।

उनले मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाएका हुन् । अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गरे ।

सो अवसरमा उनले प्रदेश सरकारले अलपत्र परेका सबै यात्रुको मानवीय ढङ्गमा व्यवस्थापन गर्ने बताए । पौडेलले यात्रुसँग कुराकानी गर्दै विभिन्न सुझावसमेत दिए । उनले अब घर फर्केर कृषि उत्पादनमा लाग्न सल्लाहसमेत दिए ।

सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार मानवताको पक्षमा रहेको बताए । उनले अलपत्र परेका यात्रुहरुसँग काठमाण्डौं छाड्नुपर्ने कारणका बारेमा सोधेका थिए । जवाफमा कतिपय यात्रुले काम नभएको, आफूहरुसँग भएको खर्च सकिएको तथा मजदूर भएका कारण प्राप्त राहत अपुग भएकाले घर फर्कनुपरेको बताएका थिए ।

काठमाण्डौंबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिए। यसैबीच सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाएका थिए । पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरीवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले गाडी पठाएका थिए । हरिवनका नगर प्रमुख प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भन्नुभएको अध्यक्ष लामाले जानकारी दिए ।

नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करीब ४ः०० बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ ।

लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पु-याइने लामाले जानकारी दिए । यात्रुको उद्धारमा मुख्यमन्त्री पौडेलसँग समन्वय गरेका अध्यक्ष लामाले अलपत्र यात्रुलाई खानपिन र बास बस्ने व्यवस्थाका लागि भएको सम्पूर्ण खर्च भीमफेदी गाउँपालिकाले व्यहोर्ने बताए ।

प्रकाशित मिति: : 2020-04-18 22:08:36

प्रतिकृया दिनुहोस्