स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थपिएका ६५ वर्षीय कोरोना संक्रमित पुरूष उदयपुरकै मस्जिदका रहेको खुलेको छ।
शुक्रबार मस्जिदमा रहेका १६ मध्ये १ नेपालीसहित १२ जनामा कोरोना संक्रमण देखिएको थियो।
बाँकी चार जनाको विराटनगरमा गरिएको पुनः परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू अहिले मोरङको टाँडीस्थित क्वारेन्टाइनमा बसेका छन्।
कोशी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. दिपक सिग्देलका अनुसार संक्रमित पुरुषलाई भोलि आइतबार क्वारेन्टाइनबाट अस्पताल ल्याइने भएको छ।
मोरङ, सुनसरी, सप्तरीहुँदै चैतको पहिलो साता उदयपुरको भुल्केस्थित मस्जिद आइपुगेका उनीहरूको गत बुधबार र्यापिड टेस्ट किटबाट परीक्षण गरिएको थियो। जसमा १६ जनाकै नतिजा नेगेटिभ देखिएको थियो। तर, पिसिआर परीक्षणमा १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
संक्रमित १२ जना लाई हिजै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिसकिएको छ।
नयाँ संक्रमितलाई पनि सोही अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार राति ८ बजे अपडेट गर्दै ६५ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो।
योसँगै नेपालमा कोभिड-१९ का संक्रमित ३१ पुगेको छ। आजैमात्र दुई जना निको भएर घर फर्किएका छन्।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।
यस्तै बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला पनि उपचारपछि निको भएर घर गएकी छिन्। तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि शनिबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
यसघि सुरूमै चीनबाट नेपाल आएका एक युवा निको भएर घर फर्किएका थिए। यो सँगै निको भएर घर फर्कने संख्या तीन पुगेको छ।
हिजो आएको नतिजामा चार जनामा नेगेटिभ देखिएपछि उनीहरूलाई क्वारेन्टाइनमा पठाइएको थियो। यो सँगै सरकारले कोरोना भेटिएको उदयपुरको उक्त बस्तीलाई शील गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
यसैबिच बस्तीका थप ६९ जनाको कोरोना परीक्षणको लागि स्वाब विराटनगर पठाइएको छ।
यस्तै उदयपुरकै भुल्केस्थित मस्जिदका १३ संक्रमितकै सम्पर्कमा रहेका सप्तरीको सप्तकोसी नगरपालिका -१ फत्तेपुरका एक ७५ वर्षिय पुरुषको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएको छ।
आरडीटी पोजेटिभ आएसँगै उनका श्रीमती र छोरालाई शनिबार साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार ती पुरुषको श्रीमतीको आरडीटी नेगेटिभ आए पनि पीसीआर परीक्षणका लागि आइसोलेसनमा राखिएको छ। उनको छोराको आरडीटी परीक्षण आइतबार गरिने यादवले बताए। पीसीआर परीक्षणको रिपोर्ट आएपछि सबै निश्चित हुने यादवले बताए।