मेट्रोले बनायो छानविन समिति
ड्युटी सकेर निवासमा फर्किँदै गर्दा प्रहरीले हातपात गरेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले विरोध गरेका छन्।
आवासीय चिकित्सकहरुका अनुसार कान्ति बाल अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा पछाडिपट्टी आरालोमा प्रहरीहरुले तीन जना चिकित्सकलाई हातपात र लाठीचार्ज गरेका छन्।
कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीको लाठीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहलाई डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरु बताउँछन्।
प्रहरीले लाठीले प्रहार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चोट लागेको छ। चोटपछि उनको अस्पतालमा एक्सरे गरिएको छ।
मेडिसिन डिपार्टमेन्टमा कार्यरत चिकित्सकहरुलाई प्रहरीले दुर्व्यवहार गरेको नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. अनुप सुवेदीले बताए। परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदासमेत दुर्व्यवहार गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही प्रक्रिया अगाडि बढाउन एसोसिएसनले माग गरेको छ।
अन्यथा कडा कदम चाल्न बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ।
अध्यक्ष डा.उप्रेती भने, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं।’
मेट्रोले बनायो छानविन समिति
महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई नकुटिएको दाबी गरेका छन्। उनले भने, 'उहाँहरुलाई लखेटेको चाहिँ हो। तर उहाँ अब डाक्टर पर्नुभएछ। अब त्यो हेर्ने बित्तिकै डाक्टर भनेर कसरी थाहा हुन्छ हामीलाई?'
यद्यपी महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविन समिति बनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन्।
समितिलाई घटनाको यथार्थ बुझेर यथाशिघ्र प्रतिवेदन पेश गर्न भनिएको रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए।