अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्ध नेतृत्वदायी भूमिकामा बसेर लडाइँ लडिरहेको विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्का गर्ने निर्णय गरेपछि संसारैभरि प्रतिकृयाको लहर चलिरहेकाे छ। संयुक्त राष्ट्र संघका महासचिव आन्तोनियो गुटेरसले संसारको अभूतपूर्व एकताविना कोरोना महामारीसँग लड्न नसकिने बताउँदै एकताको आव्हान गरेका छन्।
डब्ल्यूएचओका डाइरेक्टर जनरल डा. टेड्रोसले यो समय सबैको दुश्मन कोरोनाविरुद्ध सामूहिक रुपमै संघर्ष गर्नुपर्ने बताएका छन्। उनले बारम्बार भन्दै पनि आएका छन्– कोरोना भाइरसले धनि र गरिब, राष्ट्रियता र विचारका आधारमा आक्रमण गर्ने हाेइन। यो सबै मानवको साझा शत्रु हाे।
युरोपेली संघको वैदेशिक नीति विभाग हेर्ने प्रमुख जोसेफ बरेलले अमेरिकी सहयोग कटौति जारी रहने कुरामा आफू आशावादी रहेको र अमेरिकी निर्णय उचित नभएको कुटनीतिक भाषामा बताएका छन्। संसारैभरिका वैज्ञानिक, नीति निर्माता र कोरोनाविरुद्ध एकजुट भएर लडिरहेको समुदायमा ट्रम्पको आर्थिक सहयोग रोक्का गर्ने निर्णयको आलोचना र
विरोध भइरहेकाे छ।
अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो आर्थिक दाता हो। पोहोर साल अमेरिकाले ४० करोड डलर सहयोग गरेको थियो,जुन झण्डै कूल बजेटको १५ प्रतिशत जति हुन आउँछ। सबैभन्दा ठूलो दाता भएको नाताले डब्ल्यूएचओका कार्यक्रम आफ्ना अनुकुल होउन् भन्ने अमेरिकी आशय हुने नै भयो।
बेलायतमा उच्च शिक्षा हासिल गरेका स्वाभिमानी चरित्रका डिजी टेड्रोस आफ्नाे अनुकूल नचलेकोमा अमेरिकी असन्तुष्टि त कोरोना आउनुअघि नै थियो नै, त्यसमा पनि चीनको उहानमा कोरोना संक्रमण शुरु भएपछि डब्ल्यूएचओले पारदर्शी तरीकाले काम नगरेको, धेरै सूचना ढाकछोप गरेको, गलत व्यवस्थापन गरेर रोग फैलिने समय दिएको जस्ता आरोप शुरुदेखि नै अमेरिकाले लगाउँदै आएको छ। बेलायत र अष्ट्रेलियाले पनि ट्रम्पको भनाईमा समर्थन गर्दै यो महामारीको जिम्मेवारी चीनले लिनुपर्ने बताउँदै घुमाउरो ढंगले टेड्रोस विरोधी लाइन लिइरहेका थिए र छन् पनि।
जानकारहरुका भनाईमा ट्रम्पले यो कदम चाल्न सक्छन् भन्ने विषयमा जेनेभाको कूटनैतिक समुदाय पहिल्यै सशंकित थियो। संयुक्त राष्ट्र संघको यो वर्ष ७५ औँ जन्मदिवस हो। यो दिवसका पूर्व निर्धारित कार्यक्रममा अमेरिकीको शुरुदेखि कै भिन्न शैली, विश्व ब्यापार संगठनबाट हात झिक्ने ट्रम्पको धम्की जस्ता अमेरिकी धम्कीलाई कूटनीतिक क्षेत्रले हेरिरहेको थियो।
उनीहरुका दृष्टिमा ट्रम्प जति आफ्नो मुलुकमा कोरोनासँग लड्न असमर्थ हुँदै गएका छन्, उति उति अरु कसैमाथि
यसको दोषको भारी बोकाएर आफू चोखो बन्न चाहन्छन्। त्यसको निम्ति उनले गर्नसक्ने भनेको विश्व स्वास्थ्य संगठनमाथिको हमला नै पहिलो हुनसक्थ्यो, जुन उनले गरे।
केही कमजोरीका बाबजुद पनि कोभिड–१९ यो रणसंग्राममा डा. टेड्रोस नेतृत्वको टिमले गरेको कामलाई विश्वले सह्राना गरिरहेको छ। शुरुदेखि नै विशेष टिम बनाएर उनीहरु दिनरात नभनी खटिरहेका छन्। डब्ल्यूएचओका अर्का सहयोगी बिल गेट्सले समेत अमेरिकी कदमलाई डरलाग्दो भनिसकेका छन्। डरलाग्दो यस अर्थमा डब्ल्यूएचओले संसारभरि स्वास्थ्य क्षेत्रमा असाध्यै मानवीय काम गरिरहेको छ। अफ्रिकामा नानीहरुलाई खोप ख्वाउनेदेखि लिएर दक्षिण अमेरिकाको स्वास्थ्य समस्या इबोलादेखि खोप तयार गर्ने अनुसन्धान जस्ता बहुआयामिक कामको धूरी हो यो संस्था। झण्डै ७ हजार कर्मचारी, १ सय ५० देशका कार्यालय निरन्तर स्वस्थ रहन पाउने मानिसको हकका लागि भिन्न भिन्न रुपमा लडिरहेका छन्।
तर ट्रम्पले यसलाई आफनो कमजोरी ढाक्ने अस्त्रको रुपमा उपयोग गरे। उनले एकैतिरले दुईटा लक्ष्य भेदन गर्ने प्रयत्न गरे। त्यो हो अमेरिकासँगको उसको ब्यापारिक दुश्मनी साध्ने थलो। ट्याङ्क र मिसाइल बनाएर संसारभरि बेच्दै आएको दादागिरी अमेरिका अहिले चीनको विमानस्थलबाट मास्क लुटेर लाने अवस्थामा पुगेको छ।
आफैले प्रतिबन्ध लगाएको रुसी कम्पनीका उत्पादनहरु रुसी जहाजबाट अमेरिकामा आइपुग्दा स्विकार्नुपर्ने अवस्थामा आइपुगेको छ। संसारभरिको एकछत्र साम्राज्य चलाइरहेको अमेरिका कोरोना संकटपछिको आर्थिक मन्दीमा पछि परिने भयले ग्रस्त छ।
अमेरिका र स्विसको अधिकार विभाजनको शैली झण्डै झण्डै उस्तै छ। अमेरिकाका विभिन्न राज्यका गभर्नर र स्विसका विभिन्न कान्तोनका गभर्नरहरु नीति निर्माणको निम्ति स्वतन्त्र छन्। तर ट्रम्पले कोरोनाविरुद्धको लडाइँमा गभर्नरलाई स्वतन्त्र रुपमा काम गर्न दिइरहेका छैनन्। नाकैमुनि आजको मितिसम्म २८ हजार नागरिकको लास थुप्रिँदा पनि उनको अहम् घटेको छैन।
यो अमेरिकी मनोविज्ञान पूँजिवादी अर्थतन्त्रभित्र हुर्किएको डरलाग्दो एकाँकी मनोविज्ञान हो। जसरी वातावरण प्रदुषणसम्बन्धी पेरिस सम्झौताबाट ट्रम्पले हात झिके, यसैगरी उनले कतै संयुक्त राष्ट्र संघ र विश्व ब्यापार संगठनमा पनि यस्तै कदम चाल्ने त होइनन्? जेनेभाको कुटनीतिक क्षेत्र यो सम्भावित भविष्यप्रति सशँकित छ।
चीनविरुद्ध लड्न र आफ्ना कमजोरीको टोपी डब्ल्यूएचओलाई भिराइदिएर आफू चोखो बन्न खोज्ने उनको फट्याइँ संसारले बुझिसकेको छ। चिनियाँ भाइरस भनेर शुरुमै अस्वीकृत गरिदिएको कोरोनाले उनलाई अझै हायलकायल बनाउने छ।
अन्तिममा यो सबै संसारको सामूहिक समस्या हो भन्ने बुझेर उनी फेरि लाइनमा आउनेछन्। यति हुँदासम्म समय धेरै घर्किसकेको हुनेछ। केही मानिसको नाकको लडाइँ र मुनाफाको रणनीति बापत गरिब मुलुकहरुले लाखौँ मानिसको बलिदानी दिइरहनुपर्ने विडम्वना रहिरहनेछ।