सनसिटी अपार्टमेन्टमा २९८ को र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने २ सय ९८ जनाको र्‍यापिड टेस्ट पुरा भएको छ। 

स्वास्थ्य मन्त्रालयको टोलीको निगरानीमा बिहान १० बजेदेखि अपार्टमेन्ट भित्री एरियामा ‘ए’ ब्लकमा बसोबास गर्ने सबैको र्‍यापिड टेस्ट गरिएको छ। यही ब्लकमा गत सोमबार बेलायतबाट फर्किएका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण सकारात्मक देखिएको थियो। 

तर, पाटन अस्पतालको आइसोलेसन वार्डमा राखेर गरिएको अर्को स्वाब परीक्षणमा ८१ वर्षीय आमा र ५९ वर्षीय छोरामा पुनः संक्रमण सकारात्मक भेटिएको थियो भने बुहारीको नतिजा नकारात्मक आएको थियो। 

यस पश्चात सनसिटी वेलफेयर सोसाइटीको अग्रतामा ‘ए’ ब्लकमा बसोबास गर्ने सम्पूर्णमा चेकजाँच भएको हो। स्वास्थ्य मन्त्रालयको अधिकृत भोला अधिकारीले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार कूल २ सय ९६ जनामा परीक्षण भएको छ। जसमा दुई जनाको छुट्टै स्वाब टेस्ट गरिएको थियो। 

वेलफेयर सोसाइटीले ‘ए’ ब्लकको रिपोर्टको आधारमा अन्य ब्लकका मानिसहरूमा पनि परीक्षण गरिने बताएको छ। विदेशबाट आउने लगायत केही बिरामीमा लाई पनि छुट्टै परीक्षण गरिएको थियो। 

‘ए’ ब्लकमा भएको परीक्षणको रिपोर्ट सबैकाे नेगेटिभ आएकाे छ।

प्रकाशित मिति: : 2020-04-15 15:55:00

प्रतिकृया दिनुहोस्