काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) शुरु गरिएको छ।
बेलायतबाट फर्केर अपार्टमेन्टमा बसिरहेका आमा र छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि अपार्टमेन्टको ब्लक ‘ए’ मा रहेकाहरुको र्यापिड टेष्ट गरिन लागेको हो।
ब्लक ‘ए’मा सबैको र्यापिड टेस्ट गरिनेभएपछि त्यहाँ अहिले करिव २ हजार जना लाइनमा बसेका छन्।
त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
प्रहरीले सोमबार ने सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर जान दिएको छैन।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको र्यापिड टेस्ट गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो। लण्डनबाट आई सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
५२ वर्षीया बुहारीको भने पहिलो परीक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको र पीसीआर परीक्षण पुनः दोहोर्याइएको छ।
सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा राति १ बजे बेलायतबाट दोहा हुँदै कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्।