भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेलगत्तै मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित बनेका छन्। मुम्बईस्थित बान्द्रा रेलवे स्टेशनमा मंगलबार हजारौँ कामदारहरु मोदीको भाषण सकिनासाथै सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
३० मिनेटभित्रै कम्तिमा ३ हजार भन्दा धेरै कामदारहरु बान्द्रा सडकमा उत्रिएको भारतीय मिडियाले जनाएका छन्। अबको एक सातासम्म मात्रै लकडाउन लम्ब्याउने अपेक्षा गरिएकोमा मे ३ गतेसम्म लकडाउन थपिदिएपछि उनीहरु आन्दोलित बनेको बताउँछन्।
खासमा उनीहरु रोकिएको रेल सञ्चालन हुने आशामा स्टेशनमा आएका हुन्। उनीहरुमध्ये धेरैजसो उत्तर प्रदेश र बिहारमा मजदूरहरु थिए ।
उनीहरु आफ्नो घर जाने अनुमति मागिरहेका थिए। तर मंगलबार रेल संन्चालन भएन भने प्रधानमन्त्री मोदीले भाषणको क्रममा मजदुरको राहतका लागि कुनै प्याकेज ल्याउन सकेन।
स्टेशनमा अत्यधिक संख्यामा मानिसहरु जम्मा भएको सूचना पाएसँगै प्रहरीले त्यहाँ पुगेर धरपकड गरेको थियो। उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ।
कतिपय मजदुरहरु भने कामको ज्याला समेत नपाएको गुनासो गरेका छन्। ज्याला र घर फर्कन नपाउँदा आफूहरु भोकै रहनु परेको उनीहरुको गुनासो छ। यसअघि गुजरातको सुरत सहरमा पनि ठूलो संख्यामा आप्रबासी कामदारहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। कामको ज्याला वा घर फर्कन पाउनुपर्ने उनीहरुको माग थियो।