र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा गोरखा आरुघाटका एक युवकको रिपोर्ट पोजेटिभ देखिएको छ ।
मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एक युवकको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालका अनुसार उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए।
उनीसँगै मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्य २० जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गरिएको थियो ।
‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो’, उनले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ। अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ।’
त्यस्तै आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको उनले बताए। उनको पनि स्वाब पठाइएको छ। दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको छ भने परिबारलाई होमक्वारेण्टाइनमा राखिएको अध्यक्ष दाहालले बताए ।