जुम्लामा र्‍यापिड टेस्टमार्फत कोरोना परीक्षण गरिएका थप ५० जनाको रिर्पोट नेगेटिभ

भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिएकाहरुको र्‍यापिड टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको छन्। यसअघि स्वाब लिन छुटेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको र्‍यापिड टेस्ट गर्न थालिएको छ। 

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोलीले हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर र्‍यापिड टेस्ट गर्न थालेको ल्याव टेक्नेसिएन मौसम गिरीले जानकारी दिए।

‘विदेशबाट भित्रिनेका कारण गाउँमा त्रास सिर्जना भएको छ। अहिले उनीहरुको र्‍यापिड टेस्ट गर्ने कार्य चलिरहेको छ,’ उनले बिएल नेपाली सेवालाई भने।

उनका अनुसार पहिलो दिन तातोपानी र तिला गाउँपालिकाका गरि ५० जनाको र्‍यापिड टेस्ट गरिएको थियो। ती सबै जनाको रिर्पोट नेगेटिभ देखिएको उनले बताए।

गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले र्‍यापिड टेस्ट गर्न थालेपछि स्थानीय खुसी भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए। 

‘एक महिना अघि सम्म विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गरिएको थियो। एक जना मलेसिया र ३६ जना भारतबाट आएकाको र्‍यापिड टेस्ट गरिएको हो,’ उनले भने, ‘मंगलबार र्‍यापिड टेस्ट गरेका सबै क्वारेन्टाइनमा बसेका होइनन्। तर विदेशबाट आएका हुन्। सबैको र्‍यापिड टेस्ट गरेर मनभित्रको खुलदुली मेटाइदिएको छ।’ 

यसअघि तातोपानीका ३५ जनाको स्वाब परीक्षण गरेर रिर्पोट नेगेटिभ आइसकेको छ। तातोपानीका ६ स्वास्थ्य संस्थामा ६/६ का दरले २४ वटा पिपिई सेट उपलब्ध गराइएको छ।  

यसैबीच जिल्लाको तिला गाउँपालिकामा पनि विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गरिएको छ। तीलाका १३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार ३ जनाको सिता माबि रारालिही र १० जनाको भैरव आधारभुत विद्यालय जोगिवाडामा र्‍यापिड टेस्ट गरिएको थियो।

सोही अवसरमा पाँच वटा स्वास्थ्य संस्थामा १५ वटा पीपीई सेट वितरण गरिएको हो। चारवटा स्वास्थ्य संस्थामा १० वटा पिपिइ सेट उपलब्ध गराइएको स्वास्थ्य संयोजक शाहीले बताए। 

जिल्ला भर विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट हुने गिरीले बताए। उनले भने, ‘दोस्रो चरणमा जिल्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा र्‍यापिड टेस्ट हुने भएकोले स्वास्थ्यकर्मीको टोली बुधवार नै त्यस तर्फ प्रस्थान गर्नेछ।’

तेस्रो चरणमा जिल्लाको पातारासी र गुठिचौर गाउँपालिकामा विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट हुनेछ। एक साता भित्रमा यहाँका सबै स्थानीय तहमा र्‍यापिड टेस्ट गरेर सकिने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-15 07:08:18

प्रतिकृया दिनुहोस्