अहिले संसारनै कोरोनाको महामारीबाट ग्रस्त छ। अदृष्य अनि अजिव प्रकृतिको यस भाइरसको प्रभावले सारा दुनियाँ हल्लाउन सक्छु भन्ने शक्तिशाली राष्ट्रलाई इतिहासकै सबैभन्दा प्रतिरक्षात्मक बनाइदिएको छ।
वास्तवमा भन्नुपर्दा देख्दै नदेखिने भाइरसले अभूतपूर्व संकटको सामना गर्नुपर्दा सामान्य अवस्थामा मै हुँ भन्नेको पनि के कस्तो हालत हुँदोरहेछ भन्ने प्रष्ट पारेको छ। सवै संकटको सामना गर्न तयार रहेको भनेका पनि कति हचुवा र अव्यवस्थित हुँदो रहेछन् भन्ने प्रष्ट भएको छ।
यस्तो माहासंकटको समयलाई चाहेर वा नचाहेर पनि सामना गर्न विश्वका सबै राष्ट्र बाध्य छन्। कुरो यति हो कि चुनौती सामनाको अनिवार्य यस घडीले सवैको सामर्थ्य, चुनौती र समस्या पनि उजगार गराइदिएको छ। कसैलाई नछोडेको यस महासंकटले स्वाभाविक रुपमा नेपाललाई पनि छोडेको छैन।
विनासकारी भूकम्पको पीडाबाट तंग्रिदै गरेको नेपाललाई यस संकटले पार्ने तत्कालिन र दिर्घकालिन असरको कल्पना अहिले गर्न मुस्किल छ। यसको लेखा जोखा हामीले चाहे पनि नचाहे पनि समयले निर्ममतापूर्वक गर्नेनै छ। त्यसैले अहिले यस लेख मार्फत चर्चा गर्न खोजिएको विषय तर्फनै जाँदा ठिक होला जस्तो लाग्छ।
कोरोना भाइरसले निम्त्याएको यस महामारीको अकल्पनीय अवस्थाको सामना गर्न नेपालको पूर्वतयारी के कस्तो थियो, यसको निम्ति सम्बन्धित निकायको वैज्ञानिक र व्यवस्थित परिचालन र त्यसको परिणाम के कस्तो छ र अहिलेको संकट सामना गरेर अगाडि बढ्दै गर्दा के के सुधार गर्नुपर्ने देखिन्छ भन्ने विषयहरुमा ध्यान दिनैपर्ने हुन्छ।
यो वृहत विषय हो। यसको समग्र विश्लेषणमा थुप्रै पुस्तक नै निस्किएलान् अहिले यो लेखमा विपद् सामनाको सन्दर्भमा सदैव देखिने र अहिले पनि दोहोरिएको एक नियतिको मात्रै चर्चा गर्न खोजिएको छ।
यस लेखलाई पूर्वाग्रही नभईकन पढिने र यसको गाम्भीर्यतालाई मनन गरिने अपेक्षासहित विषय प्रवेश गरौं।
सबैभन्दा पहिला एउटा घटनाको चर्चा गरौं।
कोरोना माहामारीको हल्ला सुरु मात्रै भएको समयमा एउटा अनलाइनले लेख्यो कि-कोरोनाको आशंका लागेर जचाउन विरामी आएपछि अस्पतालमा डाक्टर र नर्स डराएर भागाभाग। पछि बुझ्दा कोरोना लागेको आशंका गर्दै अस्पताल पुगेका ती व्यक्ति पहिला प्रहरी चौकी गएका रहेछन्।
आत्तिएर प्रहरीकोमा पुगेका ती व्यक्तिलाई कोरोनाको संक्रमणबाट बच्न आवश्यक कुनै सुरक्षा उपकरणसमेत नभएका विचरा प्रहरीले मोटरसाइकलमा हालेर अस्पताल लगिदिएका रहेछन्।
सवैको सौभाग्यनै भनौं उक्त व्यक्तीलाई कोरोना संक्रमण भने भएको रहेनछ। हेर्दा सामान्य लाग्नसक्ने यस घटनाले आपद विपद र त्यसको सामनासँग जोडिएको एउटा गम्भीर विषयतर्फ संकेत गर्छ। त्यो के भने नेपालमा आपद विपदको प्रकृति हेरेर त्यसको सम्वोधन गर्ने कसले हो? भन्ने बारेमा सोच्दै नसोची सबै संकटको प्रारम्भिक सम्वोधन गर्ने निकाय प्रहरी हो भन्ने चिन्तन छ।
खास गरेर स्थानीय स्तरमा जे जस्तो पर्दा पनि पहिला प्रहरीलाई सम्झने गरिन्छ। प्रहरीप्रतिको आशा र विश्वासको दृष्टिले त्यो राम्रै पनि मान्न सकिएला, प्रहरीको निम्ति पनि त्यो गौरवकै विषय होला। तर के जनताको अपेक्षा अनुसारको भूमिका गर्ने गरेर प्रहरीलाई साधन श्रोत दिने गरिएको छ?, अपेक्षित भूमिका निर्वाह गर्न आवश्यक जनशक्ति, तालिम अनि उपकरणहरु प्रहरीले पाउने गरेका छन् त?
दुःखका साथ भन्नुपर्छ त्यस्तो भएको छैन र हुने सम्भावना पनि देखिन्न। तर, फेरि पनि किन प्रहरी प्रतिको अपेक्षा यति धेरै? किन प्रहरीको काँधमा यति धेरै जिम्मेवारी? फेरि अचम्म त के भने प्रहरीबाट चाहिनेभन्दा ज्यादा अपेक्षा प्रहरीको अप्ठेरा नबुझेका सर्वसाधारण जनताले मात्रै हैन प्रहरीलाई साधन श्रोत, अधिकार र आवश्यक उपकरण दिन अस्वीकार गर्ने प्रशासकदेखि राजनीतिज्ञले समेत गरिरहेका हुन्छन्, त्यो पनि छिटफुट रुपमा कहिले काहिँ मात्रै हैन निरन्तर त्यहीँ हुँदै आएको छ।
इतिहासदेखि अहिलेसम्मको चिरफार गर्ने हो भने जहाँ जहाँ संकट त्यहाँ प्रहरी संकट समाधानको राम बाणनै जसरि देखा पर्ने गरेको छ। ‘सत्य, सेवा सुरक्षणम्’को मूल नारा लिएर स्थापना भएको नेपाल प्रहरी स्वाभाविक रूपमा संकटको समयमा परिचालित हुनुपर्ने मध्येकै एक सुरक्षा निकाय हो। तर जे जस्तो कल्पनासहित यसको स्थापना भएको हो त्यसभन्दा धेरै गुणा महत्वपूर्ण काम नेपाल प्रहरीले गर्नु परेको छ।
जब यसको गठन भयो त्यसबेला नेपालमा सशस्त्र द्वन्द्व होला भन्ने कल्पना कसैले गरेको थिएन। तर, विडम्वना नेपालले १७ हजारभन्दा धेरै नागरिकहरुको ज्यान लिने सशस्त्र द्वन्द्धको सामना गर्नुपर्यो र त्यस द्वन्द्धको प्रभावको सामना सबैभन्दा धेरै नेपाल प्रहरीले गर्यो।
जुन खालको काहालीलाग्दो अवस्था नेपाल प्रहरीले त्यस दौरान सामना गर्नुपर्यो, त्यो प्रहरी स्थापना गर्नेले मात्रै होइन त्यस संकटको दौरान प्रहरीको नेतृत्व गर्नेदेखि मैदानमा खटिनेसम्म कसैले कल्पना गरको थिएनन्। तर पनि प्रहरीले बहादुरीपूर्ण ढंगले सकेको सामना गर्यो।
दुःखका साथ भन्नैपर्छ द्वन्द्धमा होमिएको अर्को पक्ष नेपाललाई अस्थिरतामा होम्न चाहनेले अनेकन अत्याधुनिक हतियारसहित सुसज्जित गराइरहँदा नेपाल प्रहरीका अधिकृत र जवानलाई नयाँ हतियार दिन मात्रै आनाकानी गरिएन बरू अत्याधुनिक हतियारसहित सुसज्जित सेनालाई लामो समयसम्म प्रहरीलाई सहयोग गर्ने गरेर समेत परिचालन हुँनै दिइएन।
त्यसरी प्रहरीलाइ किन लामो समयसम्म एक्लै खतरासँग खेल्न लगाइयो, त्यसो हुनुको पछाडि तत्कालिन सरकार, सेना, दरबार अनि प्रहरी नेतृत्व के कति जिम्मेवार थिए भन्ने बारेमा अनेकन तर्क र वहस हुनसक्लान्। तर त्यस्ता कुनै वहस र त्यस दौरान प्रस्तूत हुने तर्कको आधारमा प्रहरीले मैदानमा देखाएको बहादुरी अनि कतिपय अवस्थामा प्रदर्शन गरेको सुझबुझलाई कम आँक्न मिल्दैन र गर्नु हुँदैन।
प्रहरीका सबै सकल दर्जालाई सम्झिएर, उनीहरू प्रति नमन गर्दै अकल्पनीय रूपमा सुरू भएको कहालीलाग्दो द्वन्द्वको दौरान प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्नैपर्छ।
समय क्रममा रक्तपातपूर्ण द्वन्द्व त मुख्यत अन्त्य भएको छ तर सिमित श्रोत साधन र कामको प्रकृतिको तुलनामा न्यून जनशक्तिको यथार्थको वावजुद अप्रत्यासित रुपमा आइपर्ने अभूतपूर्व संकट सामनामा होमिनुपर्ने प्रहरीको वाध्यता निरन्तर रुपमा चलिरहेकै छ।
संसारलाई आतंकित पार्ने कोरोना संकटको सामनाको कुरामा पनि प्रहरी अग्रपङ्क्तिमा रहेर डटेकै छ। चुनौती थपिएको छ। अपेक्षित जिम्मेवारीमा बढोत्तरी भएको छ फेरि पनि प्रहरी अविचलित रुपमा क्रियाशील छ।
प्रहरीको जिम्मेवारीपन, साहस र कर्तव्यपरायणताको उच्च प्रशंसा गरौं, यत्रतत्र सर्वत्र त्यो भएको पनि छ। सशस्त्र द्वन्द्ध, भूकम्पहुँदै कोरोना संकटको अवस्थासम्म आउँदा जनस्तरमा प्रहरी प्रेम बढेको छ। प्रहरीको सेवा सुविधा बढाउनुपर्छ भन्ने माग हुन ढिला भए पनि उनीहरुको तलव भत्ता कटौतीको जस्तोसुकै कोशिसको विरुद्ध सिंगो देश एक भएको छ।
यो सकारात्मक कुरा हो। तर के संकट सामनाको वैज्ञानिक र व्यवहारिक पाटोको कुरा गर्दा प्रहरीले समय समयमा निर्वाह गर्नुपरेको अतिरिक्त जिम्मेवारी कहीँ कतै वैज्ञानिक र व्यवहारिक रुपमा बाँडफाँड गर्नुपर्ने तर्फ सोच्नुपर्दैन?
अवश्य पर्छ। त्यसको निम्ति अहिले चलिरहेको कोरोना बिरुद्धको लडाईमा पनि प्रहरीले चाहिनेभन्दा ज्यादा दुःख पाइरहेको सत्यको मनन गरिनुपर्छ। वहु जिम्मेवारी निर्वाह गर्नैपर्ने दायीत्व बोकेको प्रहरीलाई कमसेकम सीमानाबाट कोरोना संक्रमित आउने कुरामा मात्रै टाउको दुखाउनुनपर्ने बनाउन सक्दा मात्रै पनि धेरै राम्रो हुन्छ।
भन्नलाई भन्न सकिएला कहाँ प्रहरी मात्रै छ त, सशस्त्र छ, सेना छ। तर भारतसँग सीमाना जोडिएका जिल्लाका प्रहरी प्रमुखको तनावपूर्ण सक्रियतालाई मात्रै गम्भीरतापूर्वक हेरिने हो भने प्रहरी कस्तो भय र त्रासमा काम गरिरहेको छ, कति धेरै उत्तरदायित्व बोकेको छ भन्ने बुझ्न गाह्रो हुँदैन। हो सशस्त्र छ, सेना पनि छ। तर सीमामा घुसपैठ भयो रे भन्ने कहीँ कतै खबर आयो भने सबैभन्दा पहिला त्यो जिल्लाको एसपीको खोजी हुन्छ। चारै तिरबाट भन्ने अध्यन अनुसन्धानले देखाउँछ, भन्न त भनिएला उनीहरुलाई ‘ल सबैसँग समन्वय गरेर काम गर्नू, सवैको सहयोग लिनू’ तर उत्तरदायित्व प्रहरीबाट खोजिन्छ भने अरूले किन जिम्मेवारितासाथ काम गर्छ?
हुँदा हुँदा अस्पतालमा कोही कसैलाई कोरोना संक्रमण भाको पुष्टि भयो भने त्यसको बारेमा सोधी खोजी पनि जिल्ला प्रहरी प्रमुखबाट खोज्न राजनीतिक प्रशासनिक मात्रै हैन सञ्चारजगतका हस्ती पनि अगाडि सरेको सुनिन्छ, पढिन्छ।
यसले प्रहरीलाइ जाहाँसुकै ध्यान दिन वाध्य पार्छ जसले गर्दा यसै सिमित रहेको जनशक्ति सर्वत्र परिचालनको बोझ थपिन जान्छ। जसले हुनुपर्ने जस्तो प्रभावकारिता नहुन सक्छ। यस्तो अवस्थाको अन्त्य हुनुपर्छ।
दैनिक जीवनलाई शान्त र सुरक्षित राख्दै, कानुन कार्यान्वयनको निरन्तर गर्नुपर्ने कामका लागि नेपाल प्रहरीसँग आवश्यक जनशक्तिसमेत पर्याप्त छैन अनि त्यसमाथि सडकमा लकडाउन गराउने, विरामीलाई अस्पताल पुर्याउने, खान नपाउनेलाई खाना पुर्याउनेदेखि सीमामा कडाई गर्नेसम्मको कामहरुमा पनि प्रहरीलाई नै जिम्मा दिइन्छ।
यो अव्यवहारिक मात्रै नभएर अन्यायपूर्ण हुन्छ। सामान्य अवस्थामा पनि प्रहरी दिन रात विदा बार नभनि घन्टौं मैदानमा खटिरहेको हुन्छ। तर उसकै जस्तो वा उसले भन्दा बढी सेवा सुविधा पाउने सेनाका अधिकृतदेखि जवान व्यारेकमा बसिरहेका वा थप भत्तासहित निर्माण कार्यमा लागिरहेको हुन्छन्।
सामान्य अवस्थामा त त्यो ठिकै पनि होला। तर, असामान्य अवस्थामा सेनाको भूमिका पनि असामान्य ढंगले नै अपेक्षा गरिनुपर्छ। स्वाभाविक छ प्रहरी होस वा सेना वा सशस्त्र प्रहरी सवैको परिचालन सरकारले गर्ने हो, अनुशासित फौज सरकारले खटाउँदा खट्छ भन्ने त सवैले पुष्टि गर्दै आएकै छन्। अव पनि गर्नेनै छन्।
हिजो पनि आज पनि सरकारले जानेर नजानेर सही समयमा सही, स्पष्ट निर्णय नगर्दा मात्रै जिम्मेवारी वितरण र वहन आवश्यकता अनुसार हुन नसकेको प्रष्टै हो। अब त्यस्तो प्रवृतिको अन्त्य हुनैपर्ने देखिन्छ, अनेकन अकाट्य जिम्मेवारीको अलावा थप जिम्मेवारी वहन गर्नुपर्ने उत्तरदायित्व प्रहरीलाई दिएर सशस्त्र प्रहरी र सेनालाई उत्तरदायित्व कम हुने वा बनाउने काम बन्द हुनुपर्छ।
असाधरण समयले अभूतपूर्व कार्यशैलीको अपेक्षा गर्छ र कोरोना महामारीको यस संकटपूर्ण अवस्थामा परम्परागत ढंगले काम गरेर हुँदैन। समस्याको समाधान गर्न त्यसको जरोमै प्रहार गर्नुपर्छ।
कोरोना महामारीको सम्वन्धमा नेपालको कुरा गर्दा यो खुला सीमाबाट छिरेर अराजक चिन्तनले ग्रस्त अव्यवस्थित वस्तीमा फैलने खतरा छ। यसलाई रोक्न सीमा पूर्णत शील गर्ने अनि आन्तरिक लकडाउनमा कडाइ अनिवार्य छ। जसमा सीमा कडाइको काममा हाललाई सेना र सशस्त्रलाई अनि आन्तरिक कडाइको काम नेपाल प्रहरीलाई र संक्रमित भएकाको उपचार र हुनसक्नेको यथोचित व्यवस्थापन सहितको बसोवासको जिम्मा स्वास्थ्य मन्त्रालय मातहत निकायलाई दिनु अत्यावश्यक छ।
जे गर्न पनि प्रहरीको मुख ताक्ने भन्दा आफैंले आफैंलाई यो सवाल सोध्ने बेला भएन र- ‘आखिर प्रहरी एक्लैले सबै काम गर्नुपर्ने किन? अनि गरोस् पनि त कति र कतिन्जेलसम्म?’