काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टलाई प्रहरीले सिलबन्दि गरेको छ। उक्त अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उच्च सतर्कता उपनाइएको हो।
‘अपार्टमेन्ट १७ सय जना बस्नुहुन्छ। भित्र भएका उहाँहरुलाई अहिले बाहिर निस्कन दिएका छैनौं र बाहिर भएकालाई पनि भित्र पस्न दिएका छैनौं,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बिएल नेपाली सेवालाई भने।
उनका अनुसार उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो। ‘उहाँहरुसँग सोधपुच्छ गर्दा ५ गते कतार एयरलाइन्सबाट आउनुभएको भन्ने खुल्नमा आएको छ। त्यसपछि उहाँहरु नक्सालमा रहनुभएको आफन्तको घरमा पनि भेटघाट गर्न जानुभएको भन्ने बुझनमा आएको छ,’डीआईजी पोखरेललेले भने।
परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।
‘अहिले उहाँहरुलाई अस्पतालमा भर्ना गरिएको छ। उहाँहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको छ,’उनले भने।
उनका अनुसार र्यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्छ। थप परिक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको उनले बताए।