वीरगञ्जकाे मस्जिदमा प्रहरीले हान्याे छापा, २६ मुस्लिम धर्मप्रचारक नियन्त्रणमा

प्रहरीले वीरगञ्जमा रहेका मस्जिदमा छापामारी २६ मुस्लिम धर्मप्रचारकलाई क्वारेन्टाइनमा पठाएको छ। छपकैया २ स्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुईदर्जन भन्दा मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिइ क्वारेन्टाइनमा पठाइएको हो।

प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन। मस्जिदमा विगत केही दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार राति जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले मस्जिदमा बसेका मुस्लिम धर्म प्रचारकलाई क्वारेन्टाइनमा पठाएको हो। 

उनीहरुलाई वीरगञ्जको चिनी मिलस्थित सिद्धार्थ मावीको क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए। चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाईएको थियो।

२४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए। प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाईएको छ।

यसअघि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भई नेपाल फर्केका ४६ जनाभन्दा बढीलाई पर्सा र बाराबाट पक्राउ गरी सम्बन्धित जिल्लामा पठाइसकेको छ। विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी बाराको विश्रामपुर गाउँपालिकामा अवैध रुपमा भारत बाट प्रवेश गरेका २० जनालाई पक्राउ गरी वीरगन्ज स्थित सिद्यार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो। त्यसको भोलिपल्ट नै सम्बन्धित जिल्लाका मोल्वीलाई सुरक्षा निगरानीमा पठाइसकेको छ।

प्रकाशित मिति: : 2020-04-12 16:46:00

प्रतिकृया दिनुहोस्