खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफैंले शुक्रबार उद्धार गरेको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए।
उनका अनुसार सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको हो। 'पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको हो' उनले भने, 'शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ।'
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको वडाध्यक्ष शेर्पाको भनाइ छ।
'बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नभएकाले गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था मिलाएको हो' उनले भने।
सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको वडाध्यक्ष शेर्पाको गुनासो छ।
करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको उनले बताए।
हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लैजानुको विकल्प छैन।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीका अनुसार भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको छ।