एउटा बहादुर बच्चा, जो पहिलेदेखि नै क्यान्सरसँग लडिरहेको थियो, उसले कोरोना भाइरसविरूद्धको लडाईंमा पनि विजय प्राप्त गरेको छ।
आर्चि विल्क्स,४। न्युरोब्लास्टोमा, बच्चाहरूमा हुने क्यान्सरबाट पीडित थिए। केही समय अघिदेखि उनी क्याम्ब्रिजस्थित एडेनब्रुक अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए। उनलाई किमोथेरोपी र इम्युनथेरापी चलाएपछि केही हल्का ज्वरो देखिएको थियो। चिकित्सकहरूले कुनै जोखिम नउठाइकन उनलाई तुरुन्त कोरोना भाइरस वार्डमा पठाए। जहाँ ४८ घण्टापछि उनको रिपोर्ट आयो, कोभिड–१९ सकारात्मक।
उनमा कोरोना पुष्टी भएपछि जुम्ल्याह भाईलाई स्कुलबाट तुरुन्त फर्काइएको थियाे भने सबै परिवार एसेक्सस्थित साफरोन वाल्डेनको घरमा ‘सेल्फ आइसोलेसन’ मा बसेका थिए। केही चिन्तित देखिएका बुवा सिमोन विल्क्सले छोरालाई बचाउन आफूले आवश्यक सबै कुरा गर्ने बताएका थिए। ‘क्यान्सर त छदैथियो, त्यसमा पनि कोरोना भएको खबर सुन्दा डर लागेको थियो। यति सानो उमेरमा आर्चिले कसरी झेल्न सक्छ जस्तो लागेको थियो’, सिमोन्सले भने।
आर्चिलाई चिकित्सकले रातदिन अतिरिक्त अक्सिजन केहीदिन उपलब्ध गराएका थिए। ६ दिनपछि गत बिहीबार उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएको छ। आर्चिको परिवारले यसको खुसियालीमा ‘आर्चि जर्नी’ नामबाट फेसबुक पेज नै खोलेर पोस्ट गरेका छन्,‘आर्चि भाइरस मुक्त भएका छन्। उनलाई खोकी पनि छैन। अक्सिजनकाे जरुरी पनि परेकाे छैन।’
अप्रिल १ देखि आफ्नाे छाेरालाई हेर्न नपाएकाे परिवार याे घटनाले दंग छ भने दुई सातापछि परिवारकाे पुनर्मिलन भएकाे छ।
परिवारले अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुलाई धन्यबाद भनेका छन्। अस्पतालले क्याम्ब्रिज विश्वविधालयले तयार पारेको साम्बा–२ पोर्टेबल मेशिन बच्चाको उपचारमा प्रयोग गरेको बताएको छ। यो मेशिनले ९० मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने र छिट्टै उपचारमा भिड्न सहज हुने बताइएको छ।
टोटेनह्याम हट्सपोरका समर्थक आर्चिलाई २०१९ को जनवरीमा न्युरोब्लास्टोमा भएको थियो। उनको किड्नी र स्पाइनमा दुईवटा ट्युमर भेटिएको थियो, जुन फैलिँदै गएर बोनम्यारोसम्म पुगेको थियो।
अस्पतालले आर्चिको क्यान्सर उपचारमा प्रगति भएको र उनले ५० प्रतिशत स्वास्थ्य लाभ गरिसकेको बताएको छ।