क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ। बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
'स्वाब सङ्कलन गरिएका नागरिकको स्वाबको परीक्षण काठमाडौँमा हुनेछ', उनले भने, 'पुर्चौंडी नगरपालिकाको हाटमा १५९, नकालीमा ७१ र गहताडमा ११३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हो।'
यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको उनको भनाइ छ। 'पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब सङ्कलन गरिएको हो।'
कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली बैतडी आइपुगेको उनको भनाइ छ। स्वाब सङ्कलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो।
जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको पनि थ्रोट स्वाब दोस्रो चरणमा सङ्कलन गरिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। 'उनीहरुको स्वाब कहिले सङ्कलन गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन्', उनले भने, 'अहिले क्वारेन्टाइनमा बसेका चार स्थानीय तहका नागरिकको थ्रोट स्वाब सङ्कलन गरिएको छ।'
उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर गरिने र नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टको भनाइ छ। बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।