बेलायती प्रधानमन्त्री जाेनसनकाे स्वास्थ्य सुधार हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतका अर्थ मन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। कोरोना भाइरसको संक्रमण पुनः सक्रिय भएपछि उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना ‍भएका थिए।

सुनकले भने, ‘प्रधानमन्त्री बेडमा बसिरहेका छन् र स्वास्थ्यकर्मीसँग सकारात्मक भएर कुरा गरिरहेका छन्।’ 

प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन। मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उनी निकै उत्साहित रहेको बताएका थिए। 

प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पेका छन्।

यस्तै अर्थ मन्त्रीका अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा एकैदिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै भएको छ। २४ घण्टामा ९ सय ३८ जनाको ज्यान गएसँगै बेलायतमा अहिलेसम्म सात हजार ९७ जनाको ज्यान गएको छ। 

बेलायतमा कोरोना भाइरसबाट ६० हजारभन्दा धेरै संक्रमित भएकोमा तीमध्ये एक सय ३५ जना उपचारपछि निको भएका छन् भने ५३ हजारभन्दा बढीको उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2020-04-09 08:02:27

प्रतिकृया दिनुहोस्