अंश विवादमा महोतरीको बर्दिवास नगरपालिका–६ किसानपुरमा एक बहिनीले आफ्नै दाजुमाथी खुकुरी प्रहार गरेकी छिन्। गत शनिवार १० कक्षामा अध्ययनरत किसानपुरकी १९ वर्षीया मञ्जु कुमारी महतोले आफ्नै दाजु सञ्जयकुमार महतोलाई अंश विवादमा खुकुरी प्रहार गरेकी थिइन। खुकुरी प्रहारबाट सख्त घाईते भएका सञ्जयको टाउकोमा ४ टाँका लगाइएको छ भने हाल उनकाे उपचार धरानस्थित घोपाक्याम्पमा भइरहेको छ। झगडाकै क्रममा दाजुलाई खुकुरी प्रहार गरेकी मञ्जुले आवेगमा भाउजू कवितालाई पनि टोकेर तथा चिथोरेर घाईते बनाएकी छिन्। मञ्जुको टोकाइले कविताको पेटमा गम्भिर घाउ भएकाे छ भने दुबै कानमा प्रशस्त निलोडाम देखिन्छ।
अंश विवादको चुरो
किसानपुरको पुरानो चौलिखा बजारमा झिल्के भनेर कहलिएका विन्देश्वर महतोले दोस्रो श्रीमतीको रूपमा करमकुमारी देवीलाई धेरै अगाडी भित्र्याएका थिए। उनीबाट दुई छोरा क्रमशः विनोद र घाईते सञ्जय अनि दुई छोरी जन्मिएका थिए। हाल जेठी छोरीको विवाह भइसकेको छ भने जेठो विनोद र कान्छो छोरा सञ्जय मलेशियामा काम गर्छन। विनोद मलेशियामै छन् भने सञ्जय हालै मलेशियाबाट फर्किएका थिए।
ज्वाँला सिंह नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा छाडेर सत्तारुढ दल नेकपामा प्रवेश गरेका किसानपुरका युवा अगुवा राजु महतोका अनुसार सम्पत्तिको नाममा यो परिवारसँग घडेरीसहित १७ कट्ठा जग्गा छ। सिचाइँको प्रबन्ध नहुँदा मनग्य उब्जनी नहुनु मधेशको रोगै हो। यस्तैमा जेठी छोरीको विवाह हुँदा यो परिवारलाई ६ लाख ५० हजार ऋण लागेको थियो।
यही ऋण चुक्ता गर्ने एक मात्र उपाय वैदेशिक रोजगारी भएपछि कान्छो छोरा सञ्जय थप डेढ लाख ऋण काढेर ८ बर्षअघि मलेशिया लागेका थिए। जेठो विनोद घरबाट छुट्टिसकेको हुनाले सबै जिम्मेवारी सञ्जयको काँधमा आएको थियो। सञ्जय मलेशिया गएको केहि महिनाभित्रै आफूलाई हेलाहोँचो व्यवहार भएको भन्दै श्रीमती माइत लागेकी थिइन। सञ्जय आठ वर्ष विदेश बसेर घरको सावा र ब्याज दुबै तिरी भर्खरै घर फर्किएका थिए।
श्रीमती आमाबुवासँग बस्न नसक्ने भएपछि अंश लिएर उनी पनि छुट्टिने निस्कर्षमा पुगेका थिए। सञ्जयले अंश मागेपछि सुरु भएको विवाद धेरै पटकको पञ्चायत र छलफल हुँदै गएको शनिबार खुकुरी प्रहारमा परिणत भएको हो।
कोरोना सन्त्रासले विश्व आतंकित बनिरहँदा सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई बेवास्था गर्दै बहिनी मञ्जुले दाजुमाथी अंश विवादमा खुकुरी प्रहार गरेको घट्नाले समाज कतातिर मोडिँदैछ, यसतर्फ ईंगित गरेको छ। ‘लकडाउन’ मा कामविहिन बनेको समाजमा जुनसुकै बेला भीड जम्मा हुनसक्छ र सबैको ध्यान कोरोना केन्द्रित भइरहँदा त्यो भीड अराजक जत्थामा परिणत हुने सम्भावना प्रबल देखिन्छ। मधेशका देहातहरूमा भीडतन्त्र हावी हुँदैजाँदा भएको अपराधका घट्ना अर्को पनि छ।
कृषि श्रमिकमाथी सामूहिक हमला
कुरो साता दिनअघिको हो। धनुषामा करिब ३५ जनाको अराजक समूहले कृषि श्रमिकमाथी संघातिक हमला गर्यो। क्षिरेश्वरनाथ–९ हथराटोलमा त्यो अराजक भीडले माछापालनमा संलग्न ५ कृषि श्रमिकलाई कुटपिट गरि पोखरी किनारमा उनीहरूले आफू बस्न बनाएको अस्थायी काठे टहरा पनि भत्काएर आगो लगाइदिए।
हमलामा १९ वर्षीय कृषि मजदुर अलिहसन नदाफ निकै घाईते छन्। ग्रामिण क्षेत्रमा ज्यालामा काम गर्ने हसनको ढल्केवरस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ।
क्षिरेश्वरनाथ–९ ईच्छापुरका राजेश महतोको हथराटोलस्थित माछा पोखरीमा काम गरिरहेका हसन, प्रकाश राई, रामकरण महतो, राकेश महतो, श्याम साह सोनार बिहानको खाना खाएर अस्थायी टहरामा आराम गरिरहेका थिए। पिडित राई भन्छन्, ‘माछालाई चारो हालेर खाना खाएर सुतिरहेका थियौँ, ठोक–ठोक भन्दै एकाएक भीड आयो र केहिले हामीलाई पिटपाट गर्नथाले र टहरा भत्काए।’
स्थानीयका अनुसार हथराटोलका पल्टु मुखिया, जीवछ मुखिया, गंगा मुखिया, मिथिलाविहारी नगरपालिका–६ का रामकिशुन मुखिया, क्षिरेश्वरनाथ नगरपालिका–९ औरहाका किशोरी चौधरी, राम एकवाल चौधरी, रामविलास राउत, उतिमलाल राउत, सियाशरण राउतलगायतको नेतृत्वमा आएको समूहले हमला र तोडफोड गरेको हो। टहरामा भएको चारवटा सानो खाले टेण्ट, पर्स र महत्वपूर्ण सामाग्री पनि आगो लगाएर नस्ट पारिएकाे छ।
पिडित रामकरोन महतोका अनुसार ३० देखि ३५ जनाको समूहमा आएका र उनीहरुले टहरामा रहेका खाना बनाउने भाडाबर्तन, कृषिफर्म दर्ताको कागजपत्र, ग्याँस चुल्हो, ३ थान मोबाईल, लत्ता कपडा, माछा फर्ममा प्रयोग हुने सामाग्री, ३० हजार रुपैयाँ बराबरको ४ ईञ्चीको पानीतान्ने मेशिन, पाइप, बिजुलीतार र खाद्यपदार्थ समेत लिएर गएका छन्।
जनकपुरस्थित श्रीराम गुठीबाट ठेक्कामार्फत गुठीको नाममा रहेको १ सय ४८ विघा १० कट्ठा पाँचधुर जग्गा १० बर्षको लागि भाडामा लिएर राजेश महतोले आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्र नामक फर्ममार्फत ११ वटा पोखरीमा सुरु गरेको माछापालनमा विगत तीन महिनादेखि ५ कृषि मजदुर कार्यरत थिए।
गुठीको जग्गा बर्षौँ अघिदेखि भोगचलन गर्दै र बेच्दै आएकाको योजनामा आक्रमण भएको राजेश महता बताउँछन्। इजरायलमा एग्रिकल्चर अध्ययन अनुसन्धान गरिरहेका महतोकै अगुवाईमा धनुषा, महोत्तरी र सिन्धुलीका करिब ७० युवाको समूहले त्यहाँ माछापालन सुरु गरेका हुन्। यसअघि महतोको ११ वटै पोखरीमा बिष हालेर माछाको भूरानष्ट गरिए पनि विष हाल्ने अहिलेसम्म अज्ञात रहेको महतोले बताए। ‘गुठी जग्गाका माफियाको यस कार्यले युवा किसानलाई हतोत्साही बनाएको छ,’ महतो भन्छन्।
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला घट्नाको पुष्टि गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाइने बताउँछन्। ‘हमलाकारीलाई ‘लकडाउन’ उल्लंघन गरेको र हमला गरेको विषयमा कार्वाही अगाडी बढाईने छ’, उनले भने।
युवा कृषकको यो समूहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्तअनुदानले माछापालन सुरु गरेका हुन्। महतोका अनुसार आउने आर्थिक वर्षमा माछा फार्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद् ५ सय युवालाई रोजगार दिने योजना बनाइएको थियो।
सुरु भयो चोरी पनि
यस्तै गत मंगलबार राती धनुषाकै मिथिला नगरपालिका–५ मा रहेको विपिनकुमार महतोको चुरियामाई बालुवा प्रशोधन उद्योगमा पनि चोरी भयाे। बालुवा उद्योगबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महतोको दावी छ। ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार क्रसर उद्योगको चोरीकाे जाहेरी बिहीबार परेकाे छ।
क्रसर उद्योगका प्रोपाईटर महतोका पिता साधु महतो कोईरीले मिथिला नगरपालिका–५ का रामजीवन महतोले आफ्नाे उद्योगमा चोरी गरेको आराेप लगाउँदै उनीविरुद्भ कडा कार्वाही गर्न माग गरेका छन्। उनले प्रहरीमा दर्ता गरेको जाहेरीमा रामजीवनले पटकपटक पैसा माग गरेको उल्लेख छ। पिडित साधु महतो कोईरीले क्रसर चलाउन नपाएर ७ करोड घाटा लागिसकेको बताए। साधुले भने , ‘क्रसरको सामान चोरेका रामजीवन महतोले ज्यानै मार्नेसम्मको धम्कि दिएपछि बाध्यभएर जाहेरी दिएको हुँ।’
यी दुष्टान्त पछिल्लाेसमय मधेशका ग्रामिण क्षेत्रमा बढ्दै गरेकाे अराजकताकाे केही प्रतिनिधि घटना हुन्। यी घटनाले मधेशमा अराजकता बढ्नसक्ने देखाउँछ। ‘लकडाउन’ ले फुर्सदिला बनेका मधेशका युवा जमातलाई सजिलै बहकाउमा पारेर गम्भिर प्रकृतिका अपराधिक घट्नामा सजिलै संलग्न गराउन सजिलो पर्नेहुँदा दुर्घटनाले भयावह रुप लिनसक्छ।
परिवारका सवै सदस्य भेलाहुँदा अंशलगायतका विषयमा बिवाद उत्पन्न भएपछि मञ्जुले गरेको खुकुरी प्रहारले धेरै अर्थ बोकेको छ। ‘लकडाउन’ बढ्दै जाँदा समाजमा निम्तिने अराजक घट्ना नियन्त्रण गर्ने जिम्मा यति बेला सरकारकै हो। स्थानीय सरकार यस विषयमा झनै गम्भिर बन्नु आवश्यक छ।
–santoshbaraili@gmail.com