नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लक डाउन आज १६ औं दिन पनि जारी रहेको छ।
चैत ११ गते बिहान ६ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ।
नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लड डाउन घोषणा गरिएको थियो। सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको हो।
सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको थियो।
विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लक डाउन पछि उपत्यका सुनसान बनेको छ । मुख्यगरी काठमाडौं उपत्यकाका भिडभाड हुने बजारहरु बन्द छन् । असन बजार, न्यूरोड, ठमेल लगायतका मुख्य भिडभाड हुने बजारहरु बन्द रहेका छन् । यसैगरी बसपार्कहरु समेत सुनसान देखिएका छन्।
बजार मात्रै होइन मन्दिरहरु समेत बन्द छन् । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । लक डाउनमा कडाई गरिए पनि तरकारी पसल र खाद्य पसलहरुमा अनावश्यक भिड हुने गरेको पाइन्छ।
लक डाउन उलंघन गर्दै सडकमा जथाभावि हिड्नेहरुको संख्या बढेपछि प्रहरीले केही समय ‘होल्ड’ गरेर राख्ने नीति लिएको थियो । पछिल्लो समय प्रहरीले माइकिङ गरेर जनचेतना फैलाइरहेका छ। प्रहरीले लक डाउनको उलंघन गर्नेहरुको संख्या बढेपछि अझ कडा कारबाहीको नीति लिएको छ।
अत्याश्वयक सवारीहरु (एम्बुलेन्स, सुरक्षाकर्मी, पानी बोक्ने ट्याङ्कर, खाद्यान्न ढुवानी गर्ने सवारी र सञ्चारमाध्यमका सवारी) बाहेक चलेका छैनन्। उपत्यका सुनसान देखिएको छ। साँझपख तरकारी पसल र केही खाद्य पसल खुल्ने गरेका छन् ।
लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ । सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर राहत विरतण भइरहेको बताए पनि उनीहरु सन्तुष्ट छैनन् ।
सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ । अहिलेसम्म २ हजार १ सय २२ जनामा परीक्षण गरिएको छ । १ सय जना आइसोलेसनमा छन्।
काठमाडौं बाहिर पनि उल्लंघन गर्नेहरु बढेका छन् । स्थानीय सरकारहरुले भने आफूखुशी नियम लगाउन थालेका छन् । उनीहरुले ज्यान भन्दा ठूलो केही हैन भन्दै कडा नियमसमेत लगाउन थालेका छन् । कुनै तहमा खोलो तर्न नपाइने समेत नियम बनाइएको छ ।
एक गाउँबाट अर्को गाउँमा छिर्न नपाइने नियम समेत बनाइएको छ । नियम तोडे ६ महिना जेलसम्मको व्यवस्था गरिएको छ । सरकारले यस्ता नियममा कडाइ गरे पनि कोरोना संक्रमण पत्ता लगाउन धेरै भन्दा धेरै परीक्षण भने गर्न सकेको छैन ।