स्पेनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्याे, बिस्तारै कम हुने आश

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ। सोमबार लगातार चौथो दिन मृत्यु हुनेको संख्या घटेको र पछिल्लो १३ दिन यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको हो।

सोमबार स्पेनमा ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ ।

स्पेनमा मृत्यु हुनेको कुलसंख्या १३ हजार ३४१ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६७५ रहेको छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको इटालीमा सोमबार मृत्यु हुनेको संख्या अघिल्ला दिनको तुलनामा केही बढेको छ। सोमबार ६३६ जनाको मृत्यु भएको इटाली सरकारले जनाएको छ ।

यो संख्या आइतबारको भन्दा १११ ले बढी हो । आइतबार मार्च १९ यता इटालीमा सबैभन्दा कम मानिसको मृत्यु भएको थियो । तर सोमबार मृत्यु हुनेको संख्या शनिबारको भन्दा कम हो ।

इटालीमा अहिलेसम्म १६ हजार ५२३ जनाको संक्रमणपछि मृत्यु भएको छ । नयाँ संक्रमणको दर इटालीमा लगातार कम हुँदै गएको छ । अहिलेसम्म इटालीमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार ५४७ रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिलेसम्म ७४ हजार ६३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५० हजार भन्दा बढी युरोपका छन् ।

विश्वभर कुल संक्रमितको संख्या १३ लाख ४४ जहार भन्दा बढी पुगेको छ । अहिलेसम्म दुई लाख ७८ हजार ३३० जनामा संक्रमण निको भएको छ।

 

प्रकाशित मिति: : 2020-04-07 06:59:36

प्रतिकृया दिनुहोस्