दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

यूएईकाे दुबईमा एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको मृत्यु भएको अल रफ्फा प्रहरी चौकीले जनाएको छ। 

प्रहरीका अनुसार उनी देवदह–६ बुटवलकी हुन्। ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।

 १० वर्षदेखि दुबईमा कार्यरत  उनी  शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको छ। 

आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। ‘यो दुःखद् खबर हो। हामीले अनौपचारिक सूचना पाएका छौं। औपचारिक सूचना प्राप्तको लागि सम्बन्धित ठाउँमा चिठी लेखेर पठाएका छौं,' राजदूत कृष्णप्रसाद ढकालले भने।

यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ।

यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-04-06 20:46:55

प्रतिकृया दिनुहोस्