सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा

सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन्। 

उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ। 

क्वारेन्टाइनमा बसेका कामदारहरूलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।  

सिङ्गापुरमा सोमबारसम्म कोरोना भाइरसबाट संक्रमणको सङ्ख्या एक हजार ३०९ पुगेको छ भने छ जनाको मृत्यु भएको छ। कुल ४० हजारको परीक्षण गरिएको छ। संक्रमणमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन्। ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्। 

संक्रमित फैलिने क्रम चलिरहेकाले सरकारले मङ्गलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ। लकडाउन लागु गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ। 

प्रकाशित मिति: : 2020-04-06 19:24:11

प्रतिकृया दिनुहोस्