कोरोना भाइरस: साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसका कारण सोमबार बिहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन्। यस्तै ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्।

इटलीमा दुई हप्तापछि मृत्यु हुनेको संख्यामा कमी आएको छ। आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ।  इटलीमा अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ। यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो। स्पेनमा अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ  र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ।

अमेरिकामा संक्रमण लगातार बढ्ने क्रममा छ। अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ। यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ। अमेरिकाको न्युयोर्क सिटी सबैभन्दा बढी प्रभावित भएको छ। न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ। जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ। बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो। फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ। यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ। संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन्।

प्रकाशित मिति: : 2020-04-06 08:06:17

प्रतिकृया दिनुहोस्