साउदी अरबमा चार नेपालीमा कोरोना संक्रमण, सावधानी अपनाउन राजदूतावासकाे अनुरोध

बिएल संवाददाता

काठमाडाै‌ं

साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि संक्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ।

साउदीमा कतिपय नेपालीहरुले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको भन्दै टेलिफोन एवं पोस्टमसर्फत गुनासो गरेका छन्। धेरै कम्पनीहरुले अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन्। अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन्। 
आफू कार्यरत कम्पनीमा उपलब्ध संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचेक्र्याइँ नगर्न भनिएको छ।

सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजनासम्म पुर्याएर एक अर्कालाई मद्दत गर्न आह्वान गरिएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना संक्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ। पछिल्लो ४८ घण्टामा तीन सय ४० भन्दा धेरैमा संक्रमण देखिएको छ। राजधानी रियादमा मात्र आइतबार ६६ जनामा संक्रमण देखिएको बताइएको छ। 

साउदी मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितमध्ये चार सय ८८ जना निको भएका छन्। त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ।

प्रकाशित मिति: : 2020-04-06 07:28:26

प्रतिकृया दिनुहोस्