कोभिड–१९ : एनआरएनएले शुरु ग-यो आर्थिक सहयोग सङ्कलन अभियान

कोभिड–१९ बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ।
     
नेपाल सरकारलाई  यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाएको हो।
 
 कोषमा सङ्कलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने सङ्घका अध्यक्ष कुमार पन्तले बताए।

'सङ्घले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ', उनले भने, 'सङ्घले सानिमा बैंकमा खोलेको सङ्घको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिन्छ।'
 
कोषमा सहयोग सङ्कलनको कार्य तीव्र भइरहेको अध्यक्ष पन्तको भनाइ छ। 'सङ्घअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएर ती देशहरुमा आर्थिक सहयोग सङ्कलन गरिरहेको छ' उनले भने, 'आर्थिक सहयोग सङ्कलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब रु तीन करोड जम्मा हुने अपेक्षा राखेका छौं।' 

सङ्घले गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए। 

'अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्छ', उनले भने, 'अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको छ।' सङ्घको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको उनले बताए।
     
 

प्रकाशित मिति: : 2020-04-04 10:04:08

प्रतिकृया दिनुहोस्