लकडाउन उल्लंघन गर्ने ४ सय ८५ जना काठमाडाैं र ललितपुरबाट नियन्त्रणमा

काठमाडौं उपत्यकामा शुक्रबार लकडाउन उल्लंघन गर्ने चार सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट चार सय ६८ जना र ललितपुरबाट १७ जना गरी चार सय ८५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

लकडाउनका बेला अत्यावश्यक काम नपरि निस्किएका भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 

प्रहरीका अनुसार ६ वटा चार पाङ्ग्रे सहित ८२ वटा गाडी पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ। 

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन्। अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ।

अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केही बेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-04-03 08:46:53

प्रतिकृया दिनुहोस्