‘कोरोना भाइरस (कोभिड– १९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी गराइन्छ।’
उक्त जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत् दिनुभएको हो। यसको शीर्षक थियो– ‘सच्याइएको।’ सच्याएर दिइएको उक्त जानकारी यस्ताे अपूराे छ। अनुमान गर्नुस्, नसच्याउँदा कस्ताे थियाे हाेला ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमित व्यक्तिको नाम के हो ? कहाँबाट कुन देश हुँदै आएका हुन् ? कहाँका स्थायी बासिन्दा हुन् ? यो केही छैन, मन्त्रीजीको जानकारीमा। आम नागरिकलाई सार्वजनिक जानकारीका लागि जारी गरिएको मन्त्रीजीको उक्त सूचनाबाट किन दिइएको हो, त्यसको कुनै भेउ पाइँदैन।
मलाई मनमनै प्रश्न उठ्यो– मैले यस्तो अपूर्ण कुनै समाचार लेखेको भए त्यसबेला मेरो हालत के हुन्थ्यो होला ? मेरा पत्रकारिताका प्रारम्भिक दिनका सम्पादकले मलाई के गर्नुहुन्थ्यो होला ? मलाई अगाडि राखेर कति लामो प्रवचन दिनुहुन्थ्यो अथवा कतै त्यतैबाट कलम बिसाएर घर पो जानुपर्थ्याे कि मैले !? मैले झल्झली पूर्वसम्पादक विजयकुमार पाण्डे सम्झेँ। तर, करिब तीन करोड नेपाली जनता सम्पादकका रूपमा रहेका छन् तर मन्त्रीज्यूकाे मनमा त्यस्तो आभाषा किन आउँदैन ? लोकतान्त्रिक गणतन्त्रका मन्त्रीजीलाई मैले लेखेको ‘टेक्सट’ नेपाली जनताबाट सम्पादित हुने विषय हो भन्ने हेक्का हुनु जरुरी छ। जुन देखिएन।
सामाजिक सञ्जालमा मन्त्रीज्यूको ‘सच्याइएको’ पढेपछि मेरो मनमा स्वाभाविक रूपमा प्रश्न उठ्यो– कोरोना भाइरस सङ्क्रमित व्यक्तिको नाम किन गोप्य राखियो ? यो राख्नु जरुरी छैन। मैले स्वास्थ्यमन्त्री भानुभक्त ढकालजीको मोबाइलमा फोन गरेँ– यो जिज्ञासा मेटाउन। उहाँको फोन उठेन। जुन सामान्यतः उठ्ने गर्दैन।
मन्त्रीले सर्वसाधारणलाई ‘कल व्याक’ गर्ने त कुरै भएन। ‘रूखो व्यवहार’ भनेर आलोचना गरिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाजी पनि नभ्याएको बेला फोन उठाउँदैनथे तर भ्याउनेबित्तिकै ‘कलब्याक’ गर्थे । उनैकाे बानी अनुशरण गरेमा पनि स्वास्थ्यमन्त्रीजीको कद घट्दैनथ्यो। बरु उचो नै हुन्थ्यो।
मन्त्री ढकालजीले बुझ्न जरुरी छ– सञ्चारकर्मी भनेका जनताको सूचनाको हकको प्रत्याभूति गर्ने माध्यम हुन्। यी निजी कामका लागि मन्त्रीकहाँ आइरहेका होइनन्। सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाइसकेपछि, स्वयम् प्रधानमन्त्रीले पत्रकारलाई नआउन अनुरोध गर्दै सरकारी सञ्चारमाध्यमबाट देशवासीलाई सम्बोधन गरिसकेपछि पनि मन्त्रालयमा भीड जम्मा पारेर पत्रकार सम्मेलन गर्ने ढङ्ग पुष्टि गरिसकेका मन्त्रीज्यूले सञ्चारकर्मीको महत्व नबझेको भन्न अवश्य मिलेन।
मन्त्री भनेकाे अमूक पार्टीको नेता जस्तो होइन । नेताले मेरा पार्टीका मान्छेकाे मात्र नेता हुँ भन्न सक्ला तर मन्त्री पार्टीको मात्र हुन सक्दैन। देशकै नेता हाे । पार्टीबाहिरकाे पनि हुनुपर्छ। त्यही अनुसारको दायित्व र व्यवहार गर्न सिक्नु जरुरी छ।
सरकारले काेराेना भाइरस पाेजेटिभ भएका बिरामीकाे नाम गोप्य राख्नुको कारणबारे मनमा कुरा खेलाउँदै तीन दिन बिते। कोरोना सङ्क्रमित नेपालीको संख्या तीनबाट बढेर यसैबीच पाँच जना पुगिसक्यो तर ती को–को हुन् ? कहाँका हुन् ? कहाँबाट कहाँ हुँदै आएका थिए ? नेपाल आएर पनि कोरोना पोजेटिभ देखिनुअघि उनी कहाँ-कहाँ बसेका थिए ? यी र यस्ता प्रश्नको विस्तृत जानकारी आउने लक्षण देखिएन।
वास्तवमा स्वास्थ्यमन्त्री व्यस्त हुनुहोला। मास्क बेच्ने व्यापारीदेखि स्यानेटाइजर उत्पादकसम्म उहाँकहाँ धाएको धाएकै छन्। चीनबाट ‘मेडिकल इन्स्ट्रुमेन्ट’ झिकाउँदाको 'झमेला' बेग्लै होला। त्यसबाहेक काठमाडौँ उपत्यकाभित्रका अस्पताल र क्वारेन्टाइन सेन्टरको निरीक्षण अर्को काम बनेको छ। पहाडमा घरमूली बा बेसीखेतको बाली हेर्न गएजस्तै अस्पताल हेर्न जाने काम पनि उहाँको छ। त्यस्तै अनेक व्यस्तताले पनि हुनुपर्छ– बेलायती युवराज चार्ल्स वा प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि ‘आइसोलेसन’ मा बसेको भनी उहाँहरू स्वयम्ले औपचारिक घोषणा पनि जानकारी नभएको।
तीन दिनपछि यो प्रश्न कोभिड– १९ महामारी रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष राखेँ– औपचारिक अन्तर्वार्तामै। उहाँको जवाफ थियो, ‘प्रभावित भएका व्यक्तिलाई गोप्य राख्नुपर्छ भन्ने जरुरी होइन। कोरोनालाई प्रारम्भमा चाहिनेभन्दा बढी संवेदनशील बनाएर चित्रण गरिएको हुनाले गोप्य राखिएको हुनसक्छ। व्यक्तिको नाम सार्वजनिक गर्न सकिन्छ।’
तीन महिनाअघि चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमण महामारीका रूपमा फैलिसकेको छ। यसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीका रूपमा घोषणा गरिसकेको छ। यसको उद्गम चीनमा यो नियन्त्रणमा आइसकेको छ। तर, सुरुका दिन ‘नोवेल कोरोना भाइरस’ लाई चिनिया भाइरस भन्दै खिल्ली उडाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देश– संयुक्त राज्य अमेरिका अहिले सबैभन्दा सबैभन्दा महामारी फैलने संसारको एक नम्बर देश बनेको छ।
युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड जस्ता देशमा सबैभन्दा बढी मान्छेको ज्यान लिने गरी कोरोना भाइरसले विनाशलीला मच्चाइरहेको छ। एसियामा सबैभन्दा बढी विनाश चीनमा मच्चाएको कोरोनाले इरानलाई नराम्ररी गाँजेको छ। दक्षिण कोरियाले आफूलाई जेनतेन जोगाएको छ।
व्यस्त मन्त्रीज्युलाई ज्ञातव्य होस्, बेलायती युवराज चार्ल्स, प्रधानमन्त्री बोरिश जोन्सन कोरोना पोजेटिभ देखिएपछि अहिले ‘आइसोलेसन’ मा बसेर उपचार गरिरहेका छन्। बेलायती स्वास्थ्यमन्त्री म्याट हानककलाई कोरोना पोजेटिभ पुष्टि भएकोे छ। उनले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘मलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। म घरमै आइसोलेसनमा बसेर काम गरिरहेको छु।’
युरोपकै अर्को देश पोर्चुगलका अत्यन्त लोकप्रिय नेता राष्ट्रपति मार्सेलो दे सौसाले देशका कसैको मृत्यु हुनुअघि नै सेल्फ–क्वारेन्टाइनमा गएको घोषणा गरे। पोर्चुगलकै फूटबल स्टार क्रिश्चियानो रोनाल्डो सेल्फ क्वारेन्टाइनमा छन्। उनी इटालियन फूटबलर २५ वर्षीय ड्यानियल रुगानीमा कोरोना संक्रमण भएपछि आफैँ क्वारेन्टाइनमा गएका हुन्। रोनाल्डोले इन्टरमिलानविरुद्धको खेलमा रुगानीले प्रयोग गरेकै ‘चेञ्जिङ रुम’ प्रयोग गरेको थाहा पाएर क्वारेन्टाइनमा गएको बताएका छन्।
स्पेनका प्रधानमन्त्री पेन्ड्रो साञ्चेजसहित सबै मन्त्रीले कोरोना सङ्क्रमणको परीक्षण गरेका छन्। वरिष्ठ मन्त्री ल्गेसियस क्वारेन्टाइनमा बसेका छन्। समानतामन्त्री आइरेन मोन्तेरोले आफूलाई संक्रमण देखिएको घोषणा गरेकी छिन्। स्पेनको राजकुमारीसमेत रहेकी पूर्व उपप्रधानमन्त्री ८६ वर्षीया मारिया टेरेसाको मृत्यु कोरोना भाइरस सङ्क्रमणका कारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
उत्तर अमेरिकी मुलुक क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सेफी ग्रेगोइर टुडो आइसोलेसनमा छिन्। अष्ट्रेलियाका गृहमन्त्री पिटर डोटोनलाई कोरोना भाइरस पुष्टि भएको छ।
एसियाली मुलुक इरानका स्वास्थ्य उपमन्त्री इराज ह्यारिचीलाई कोरोना सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। इरानी सांसद् मोहम्मद सादेमा पनि कोरोना पुष्टि भएको छ। त्यहाँका सांसद् फतेमेह रहवरसहित दुई जना सांसद्को पनि मृत्यु भइसकेको सञ्चारमाध्यमले जनाएका छन्।
हलिलउड स्टार अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी पनि कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा बसेर उपचार गराइरहेका छन्। यी र यस्ता धेरै सार्वजनिक व्यक्तित्वमाथि अहिले संसारभरि कोरोना भाइरस सङ्क्रमण भएको छ।
सबैका नाम सार्वजनिक भएका छन्। उनीहरूसँग सानिध्यता भएका वा संसर्गमा रहेका व्यक्तिहरू स्वयम् आइसोलेसनमा बसेर कोरोनाविरुद्ध लडिरहेका छन्। यतिसम्म कि इटालीमा कोरोना सङ्क्रमितको उपचारमा संलग्न ५१ जना डाक्टरको मृत्यु भएको समेत समाचार सार्वजनिक भएको छ। त्यहाँ केही लुकाउनुपरेको छैन।
नेपालमा तीन पुस्ताअघिसम्म कुष्ठरोगलाई लुकाइन्थ्यो। महाराेग भनिने त्यसलाई 'काेर' पनि भनिन्थ्याे । अहिले संसारभरि महामारी बनेकाे काेराेना 'काेर' पनि हाेइन । काेराेना पापको परिणाम मानिने त्यसबेलाको समाजले उक्त रोगको नाम समेत उच्चारण नगरी ‘ठूलो रोग’ भनिन्थ्यो। कसैलाई भइहालेमा घरबाट निकाला गरी अलग्गै टहरोमा लगेर छाडिन्थ्यो। त्यहाँ कोही जान्नथे। कसैले आफूलाई त्यसको लक्षण देख्यो भने रोग लुकाउँथ्यो– बहिस्करणको डरले। त्यसपछि केही समय त्यही हैसियत पायो– क्षय रोगले, जुन अहिले लुतोसरह भइसकेको छ।
करिब दुई दशकअघि एचआईभी सङ्क्रमित बिरामीले सामाजिक बहिस्करणका डरले त्यसै गरी रोग लुकाउँथे। त्यसबाहेक देह व्यापारमा लागेका वा यौनशोषणमा परेका व्यक्तिको नाम, वतन र हुलिया खुलाइँदैन– समाजमा पुनस्र्थापनामा समस्या हुनसक्ने भएकाले। सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण कतिपय व्यक्तिका नाम र वतन गोप्य राखिन्थ्यो।
नेपालको संविधानले पनि गोपनीयताको हकलाई मौलिक हकका रूपमा लिपीबद्ध गरेको छ। त्यसैले कतिपय निजी मामिलाहरू व्यक्तिले अनुमति नदिएमा गोप्य नै राख्नुपर्ने हुन्छ तर कोरोना भाइरस संक्रमणमा उक्त कुनै पनि कारणहरू लाग्दैनन्। यो गोप्य राखिनु विशुद्ध मानसिकतासँग जोडिएको विषय हो। यो कुनैबेला ‘ठूलो रोग’ पूर्वजन्मका पापका कारण भएको सामाजिक अपजशबाट जोगिनगोप्य राखिनु विशुद्ध मानसिकतासँग जोडिएको विषय हो। यो कुनैबेला ‘ठूलो रोग’ पूर्वजन्मका पापका कारण भएको भन्ने सामाजिक अपजशबाट जोगिन रोग लुकाउने मानसिकताबाट प्रेरित छ।
स्वास्थ्य मन्त्रीज्यू, यदि बिरामीको नाम सार्वजनिक गर्न हुँदैनथ्यो भने संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतका युवराज, प्रधानमन्त्री वा मन्त्रीको नाम किन सार्वजनिक भयो ? इटाली, स्पेन, अष्ट्रेलिया, क्यानाडा, इरान वा चीनमा सङ्क्रमित व्यक्ति तस्विरसहित किन सार्वजनिक गरिए ? स्पेनमा कोरानाका बिरामी नागरिकको उपचार गर्न अस्वीकार गर्ने निजी अस्पताललाई त्यहाँका स्वास्थ्यमन्त्रीले राष्ट्रियकरण गरेको घोषणा गरिदिए। के संविधानमै ‘समाजवाद उन्मुख देश’ लेखिएको कम्युनिष्ट पार्टीका स्वास्थ्यमन्त्रीसँग त्यो आँट छ ?
कोरोना भाइरस सङ्क्रमित बिरामीको नाम, वतन लुकाउँदाको कुनै लाभ छैन। बरु यसले हानीमात्र गरेको छ। कोही मान्छेलाई सङ्क्रमण भएको कुरा तस्बिरसहित नाम, ठेगाना सार्वजनिक गरिदिएमा ऊसँग भौैतिक सानिध्य, संसर्ग वा सम्पर्कमा रहेका व्यक्ति छिट्टै सचेत हुन पाउँछन्। तत्काल ‘सेल्फ क्वारेन्टाइन’ मा जान्छन्। यसले घर–परिवार वा समाजमा कोरोना भाइरस फैलनबाट बचाउँछ। उसले कोरोना भाइरस परीक्षण गर्ने अस्पतालमास्वास्थ्य परीक्षण गराउँछ। अनि कोरोना फैलनाबाट बचाउँछ।
अहिलेसम्म कोरोना भाइरस काठमाडौं, धनगढी वा बाग्लुङ वा धादिङका बिरामीमा भेटिएको मात्र सरकारले जनाएको छ। यसले संत्राश फैलिएको समाजमा त्यो जिल्लाका मान्छेलाई नै पस्न नदिने खालको जोखिम सिर्जना हुन्छ। तराईका नगरोन्मुख गाउँहरूमा अपरिचित व्यक्ति पस्न नदिने खालको अभियान सुरु हुन थालेको छ। यस्तो चौकिदारीले समाजमा अशान्ति र हिंसा निम्त्याउने खतरा बढ्दै छ। फलानो ठाउँको फलानो व्यक्ति भनी सार्वजनिक गरिदिँदा त्यसको सकारात्मक परिणाम दिनेछ। अन्यथा नाेबेल काेराेना भाइरस सङ्क्रमितकाे नाम वतन लुकाउनुकाे चित्त बुझ्दाे कारण जनतालाई दिनुपर्छ । मन्त्रीज्यूको जो इच्छा !