नेपालबाट भारत फर्किएका युवकमा कोरोना संक्रमण

बिएल संवाददाता

नयाँदिल्ली

भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा नेपालबाट केही दिनअघि मात्र फर्किएका थिए।

अम्बालाको सिभिल अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवकमा कोरोना पुष्टि भएको बताए। अहिले उनको अवस्था स्थिर रहेको छ।

‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन्। परीक्षण गर्दा कोरोना पुष्टि भएको छ। अहिले उनको अवस्था भने सामान्य छ,’ डा। कुलदिपले भने।

तर उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही नखुलेको उनले बिएल नेपालीसँग बताए। शनिबार राति आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमरण रहेको पुष्टि भएको हो। उनलाई कोरोनालागेको पुष्टि भएपछि अहिले पुरै परिवार त्रसित बनेको छ। र, सबैलाई आइसोलेसनमा राखिएको छ।

संक्रमित युवक कामका लागि अर्का एकजना साथीसँगै गत ९ मार्चमा नेपाल गएका थिए। त्यसपछि उनी १९ मार्चको अपरान्ह तीन बजेको काठमाडौंबाट दिल्ली फर्किएका थिए। दिल्ली विमानस्थलमा जाँचका क्रममा उनको स्वास्थ्य अवस्थामा सामान्य भएकाले उनलाई घरमै गएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो।

उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवकको पनि स्वास्थ्य परीक्षण गरिएको छ। तर, उनको रिपोर्ट आइनसकेको डा. कुलदिपले बताए। युवकलाई कोरोना पुष्टि भएपछि प्रशासनले उनको गाउँ रामनगरलाई पुरै नियन्त्रणमा लिएर र उनको सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेको बताइएको छ।

 

प्रकाशित मिति: : 2020-03-30 02:58:00

प्रतिकृया दिनुहोस्