विश्व नै काेराेना भाइस (कोभिड–१९) ले गर्दा अत्यन्तै कठिन मोडमा परिरहँदा दक्षिण एसियाली मुलुक नेपाल पनि अछुतो छैन।
नेपालका जनताहरू यतिबेला त्रसित अवस्थामा डराइ–डराई आफ्नो जनजीवनको जोहो गरिरहेका छन्। मुलुकमा सञ्चालित सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू जनताको दृष्टिकोणबाट भरपर्दो, सक्षम र सबल रुपमा देखिदैनन्। काेराेनाको परीक्षण गर्ने सामग्री, संक्रमित बढेमा उपचार गर्ने साधन स्रोत र दक्ष जनशक्ति पर्याप्त मात्रमा समेत छैनन्।
देश आफैंमा बिरामी अवस्थाबाट बिस्तारै सन्चो हुने प्रक्रियामा छ। कुनै पनि राष्ट्रको कार्यकारी प्रमुखले सरकार अस्पतालबाट सञ्चालन गर्नुगर्छ भने, देशको चिन्ता नागरिकमा बढ्नुलाई अन्यथाका रूपमा अर्थ लगाउनु हुँदैन। प्रधानमन्त्री केपी शर्मा ओली आफैं बिरामी अवस्थामा छन्। उनलाई यतिबेला देश र जनताको चिन्ता र चासोसँगै आफ्नो स्वास्थ्यको हेरचाह पनि निकै जरूरी पर्छ। जुन स्वभाविक पनि हो। ओलीले चाहेर पनि यो बिसम परिस्थितिमा सक्रिय भएर खटिन निकै चुनौती छ।
अमेरिका, चीन, इटाली, स्पेनलगायत कोरोनाबाट निकै नै प्रभावित देशका कार्यकारी प्रमुखको खटाई, तदारूकता हामीले दिनानुदिन देखिरहेका छौं। तर, ओली आफैंले सरकार कोठाबाट सञ्चालन गरिरहेको सन्देश दिएका छन्।
यतिबेला जनतालाई घरमै राखेर –जनताका आधारभूत आवश्यकता र सचेतनाका प्रभावकारी कार्यक्रमसहित मैदानमा उत्रिने राष्ट्रप्रमुखको अपेक्षा देश र देशका जनताले गर्नु नराम्रो त पक्कै पनि होइन, होला? आम नागरिक जनतासँगै रूने कार्यकारी प्रमुख चाहँदैनन् – उनीहरु त आफू रूँदासमेत घर बाहिर निस्किएर आशाको दियो बालिदिने प्रमुख खोजिरहेका हुन्छन्। यसको अर्थ प्रधानमन्त्री ओलीको इच्छा शक्तिमा प्रश्न गरिएको भने कदापि होइन।
यो समय नानाथरी राजनीतिक दाउपेच गर्ने, राजनीतिक रोटी सेक्ने, आग्रह, पूर्वाग्रही हुने र सरकारलाई असहयोग गर्ने समय बिल्कुनै होइन। यतिबेला राष्ट्रिय एकताको खाँचो छ। हामी बाँचेमा भोलि यो सब कुराहरू गर्न सकिन्छ। एउटा सचेत नागरिकको भूमिका सबैले इमान्दार र राष्ट्रप्रेमी भएर खेल्नुपर्छ। जो जुन पार्टी वा आस्थामा भए पनि कोरोना विरूद्ध एक ठाउँमा उभिएर दृढ शक्तिका लागि लाग्ने अवसर र महत्वपूर्ण समय पनि हो।
प्रधानमनत्री ओली आफैंले धेरै गर्न सक्दैनन् तर, सारा देशवासीको स्वास्थ्यको अभिभारा बोकेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालको चालामाला पनि प्रशंसायोग्य पटक्कै छैन। मन्त्री ढकाल आफू शारीरिक रूपमा स्वस्थ्य भए पनि, यो कठिन समयमा स्वास्थ्य मन्त्रालय चलाउन अश्वस्थ रहेछन् भन्ने प्रमाणित गरिसके।
प्रधानमन्त्री ओलीले राजनीतिक व्यक्तित्व नभए पनि आर्थिक मामलामा जानकार, अर्थविद र यसै क्षेत्रमा लामो अनुभवी डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाए। यो कठिन समयमा ओलीले यस्तै बोल्ड डिसिजन गरेर स्वास्थ्य क्षेत्रको विषयमा जानकार, खटिनसक्ने र योग्य र संक्षम व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउन सक्छन्। यो बेलामा ओलीले विकल्प सोचेनन् भने – ओलीका लागि दोस्रो गोकुल बाँस्कोटा बन्ने खतरा देखिन्छ। अहिलेसम्म नेपालमा काेराेनाले माहामारीको रूप लिइसकेको छैन, तर रोगसँग लापरबाही गरेर पनि हुँदैन। विश्वका अति विकशित देशको रूवाबासी देखिरहेका हामीहरू – किन सचेत नहुने? देशमा महामारी फैलियो भने मन्त्री ढकाल कोरोनासँग जुध्ने प्रभावकारी कदम चाल्न सक्ने छाँटकाट भएका ब्यक्ति भने पटक्कै होइनन्।
अब कसले चलाउने त मन्त्रालय, संक्षम र प्रभावकारी मान्छे पनि चाहियो। झट्ट दिमागमा आएको नाम हो, डा.भगवान कोइराला। उनी जस्ता अरू थुप्रै स्वास्थ्य क्षेत्रका खास जानकार, क्षमतावान, इमान्दार र तोकिएको वा दिएको जिम्मेवारी पूरा गर्न दिनरात खटिने व्यक्ति छन्। मन्त्री बनाएर हुन्छ या विशेष पद सिर्जना गरेर वा जसो गरेर भएता पनि हामीलाई काेराेना भाइरस बिरुद्धको लडाई लड्न एक भरपर्दो कमाण्डरको खाँचो छ।
आगे ओली र काेराेनाको जो मर्जी...