फ्रान्समा कोरोना संक्रमण रोक्न क्लोरोकिन परीक्षण

अनुराधा पौडेल

पेरिस, फ्रान्स

कोरोना भाइरसको द्रुत फैलावट रोक्न फ्रान्सले क्लोरोकिन नामक औषधि परीक्षण गर्ने भएको छ ।

यो औषधि मलेरिया रोकथामका लागि सन् १९४७ मा बजारमा ल्याइएको हो । सन् १९४५ पछि क्लोरोकिन र डिडीटी पाउडर मलेरिया नियन्त्रणको लागि बिश्वभर नै ब्यापक प्रयोगमा ल्याइएको थियो ।

तर, क्लोरोकिनले देखाउने साइड इफेक्ट अलि कडा भएपछि यसको प्रयोग कमै मात्रामा हुने गरेको थियो ।

औषधिका रुपमा यो हाइड्रोक्लोरोकिनका नाउँमा बजारमा उपलब्ध छ ।

अहिलेभन्दा १० बर्ष पहिला नै यसको प्रयोग भविष्यमा देखिने भाइरस रोकथामका लागि गर्न सकिने भनि फ्रान्सको मार्सेइ शहरमा रहेको अस्पताल L’IHU de Marseille का संक्रमण रोग बिशेषज्ञ राओउल (RAOULT) ले दावी गर्दै आएका थिए ।

यिनै बिशेषज्ञले अहिले यो औषधिमा एन्टिबायोटिक (Azithromycine) पनि मिसाएर २४ बिरामीलाई खुवाइसकेका छन् । यसको नतिजा सकारात्मक र उत्साहबर्धक देखिएपछि उनले हालसालै सरकारलाई आफ्नो परीक्षण नतिजा पेश गरेका थिए ।

उनैको नतिजालाई आधार मानेर आजै फ्रान्सको औषधि र स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुसन्धान केन्द्र (INSERM) ले यो औषधि ब्यापक परिणाममा परीक्षण गर्न अनुमति दिएको छ । यसमा फ्रान्सका संक्रमणरोषविज्ञ दिदिओ पाओलाले अनुसन्धान गरिरहेका छन्। 

यो परिक्षणलाई डिस्कोभरी ‘Discovery’ नाउँ दिइएको छ ।

परीक्षण बेल्जियम, निदरल्यान्ड, बेलायत, लक्जम्बर्ग, जर्मनी र स्पेनका कोरोना संक्रमितहरुमा गरिदेँछ ।

यो मुख्य औषधिका साथ साथ अरु थप तीन थरी सहायक औषधी पनि युरोपभर परीक्षणमा लगिएको छ ।

फ्रान्समा मात्रै करीव ६०० कोरोना संक्रमितलाई यो औषधि भोलिबाटै परीक्षणस्वरुप खुवाउन शुरु हुने छ ।

यो औषधि मुटुरोगी र भेन्टिलेटरमा गहन उपचार दिएर राखिएका कोरोना रोगीलाई भने दिइने छैन किनभने मुटुका बिरामीलाई यो औषधीले थप जोखिममा पुर्याउन सक्छ। त्यसो त अरु एन्टिभाइरल औषधीले जस्तै यसले पनि पाचन प्रणालीलाई असर गर्ने र पखाला लाग्न सक्ने चिकित्सकले जानकारी दिएका छन् ।

कोरोना भाइरसको द्रुत फैलावट रोक्न फ्रान्सले क्लोरोकिन नामक औषधि परीक्षण गर्ने भएको छ।यो औषधि मलेरिया रोकथामका लागि सन् १९४७ मा बजारमा ल्याइएको थियो ।तर, यसको  साइड इफेक्ट अलि कडा भएपछि यसको प्रयोग कमै मात्रामा हुने गरेको थियो ।

हरेक साँझ स्वास्थ्य सेवा बिभाग प्रमुख जेरोम सालोमोन फ्रान्समा कोरोनासमन्धी नयाँ रोगी र उपचार तथा रोकथामबारे पत्रकार सम्मेलन गर्छन् ।

आजको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले खोप या औषधी जे निकाल्न सकिन्छ त्यसमा गहन अध्ययन गर्न बिज्ञलाई प्रोत्साहन गरिरहेका छौँ । खोप बन्न अझै केही समय लाग्ने र कोरोनाको द्र्त फैलावट रोक्न केही न केही गर्नैपर्ने अबस्थामा हामी छौँ ।‘ त्यसैले उनले थपे, ‘औषधि प्रयोगकर्तालाई नढाँटिकन सबै जानकारी सरकार र स्वास्थ्यकर्मीलाई उपलब्ध गराइदिन बिनम्र अनुरोध गर्छु।‘

कोरोनाको उपचारका लागि संसारभर नै कि त औषधी कि त खोप आविस्कारका लागि काम भइरहेको छ। अमेरिकामा चारजनामा खोप परीक्षण गरिएको छ भने चीन र जापानसमेत खोप आविष्कारको नजिक पुगेको बताइएको छ ।

त्यसो त कोरोनाको द्रुत फैलावट रोक्न चीनले बजारमा प्राप्त साधारण एन्टिभाइरलदेखि एचआइभी एड्स रोकथाममा प्रयोग हुने एन्टी भाइरस प्रयोगमा ल्याइएको जानकारी आएको थियो ।

प्रकाशित मिति: : 2020-03-23 19:09:58

प्रतिकृया दिनुहोस्