कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्नेको ह्वातै बढेको छ। गत बुधबार सरकारले उच्च सतर्कता अपनाउन भन्दै शिक्षण संस्था बन्द गरेपछि पछिल्ला तीन दिनमा काठमाडौं छोड्नेको संख्या बढेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझसम्म एकैदिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् ।
यही दिन बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको छ। त्यस्तै शनिबार नै ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन काठमाडौं भित्रिएका छन्।
बुधबारयता काठमाडौं छाड्ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले बताए। उनका अनुसार टिकट काउन्टर र बसपार्कमा शनिबार यात्रुको भिड अघिपछि भन्दा बढी रहेको थियो।
कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सरकारले शैक्षिक सत्रको अन्तिम महिनामा हतारहतार वार्षिक परीक्षा लिइएको थियो भने माध्यमिक स्तरको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो। लोकसेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन् ।