त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित नहुने भएको छ।
कतिपय संकायका परीक्षा भइरहेको र केहीको शुक्रबारदेखि सुरू हुने भन्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले परीक्षा स्थगित गर्ने निर्णय नभएको बताए।
‘त्रिविका परीक्षा यथावत् छ। परीक्षा स्थगित हुँदैन,’ उपकुलपति बाँस्कोटाले भने, ‘आज डिनहरूसँग छलफल गरियो। परीक्षा स्थगित नगर्ने निर्णयमा पुगेका छौं।’
बाँस्कोटाका अनुसार परीक्षा स्थगित नगर्ने आधिकारिक निर्णय बिहीबार हुनेछ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि त्रिविका परीक्षा पूर्वतालिका अनुसार यथावत् नै रहेको बताएका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।