राधिका शाक्यज्यूलाई सलाम!
सम्माननीय प्रधामन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगन्जमा दोस्रो पटक मृगौला प्रत्यारोपरणपछि शुक्रबार अबेर घर फर्किए।
मृगौला प्रत्यारोपण गरिएको पाँचौ दिनको कुरा हो। प्रधानमन्त्री पत्नी राधिका शाक्य श्रीमानलाई टिचिङ अस्पतालको आइसियुमै छोडेर वीर अस्पताल पुगिन्।
त्यहाँ उनले उपचार गराइरहेकी सुनिता बिकलाई भेटेर उनको स्वास्थ्य स्थितिबारे बुझिन्।
पूरै देश प्रधानमन्त्रीको स्वास्थ्यस्थितिप्रति उत्सुक थियो। स्वास्थ्य लाभका सन्देशले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रंगिएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्यस्थितिप्रति आम मानिसको यो खालको उत्सुकता, जिज्ञासा र सन्देशहरू यत्रतत्र छाइरहेका बेला पतिको स्वास्थ्यस्थितिप्रति गम्भीरता, तयारी, व्यवस्थापनका जिम्मेवारीको चटारो राधिका शाक्यलाई छँदै थियो।
सोही बेला केही समय पहिले आफूले पढेको एउटा समाचारले दयालु राधिकाको मन चिमोट्यो, हुटहुटी चल्यो।
कुनै पनि कुरालाई मनले खिचेपछि पुरा गरेरै छोड्ने राधिकाको अडानले समाचारमा आएकी ती युवतीका बारेमा सोधखोज गर्ने निर्णय गरिन्। सोही समाचारलाई पछ्याएर उनले आफ्ना साथी र सहयोगीलाई बिरामीको खोजी गर्न लगाइन्।
सहयोगीहरूले बिरामी सुनिता बिकलाई सम्पर्क गरेर उपचारका लागि काठमाडौं ल्याउने तयारी गरे।
फागुन २१, २०७६ साल। यही दिन आफ्ना पति एवं मुलुकका कार्यकारी प्रमुखको शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने दिन थियो। संयोगले सोही दिन उनकै निर्देशन र समन्वयमा अर्घाखाँचीबाट ल्याएर वीर अस्पतालको नेफ्रो वार्डमा बिरामी सुनिताको उपचार शुरू भयो।
यता पतिको मृगौला प्रत्यारोपण र सुनिताको उपचार एकै दिन सुरू भएपछि राधिका अत्यान्त खुसी भइन्।
यसैबीच धपेडीले गर्दा आफैं अस्वस्थ भइन्। त्यसपछि उनले बालुवाटार निवासमै जनरल उपचारसहित आराम गरिन्। आफैं अस्वस्थ भएपछि उनले बिरामी सुनितालाई तत्काल अस्पतालमा भेट्न सकिनन्।
भर्ना भएको पाँचौं दिनमा मात्रै सुनितालाई भेट्न उनी वीर अस्पताल पुगेकी थिइन्।
अस्पताल पुगेर उनले सुनिताको सबै औषधोपचारका साथै राम्ररी आँखा नदेख्ने सुनिताका श्रीमान् प्रकाशको समेत उपचारका लागि समन्वय गरिन्। र दुई छोराहरूको शिक्षा दिक्षा र उचित रेखदेखका विषयमा पनि चासो दिइन्।
‘प्रधानमन्त्रीज्यू मलाई बचाउनुहोस्’ भनी बिरामी सुनिता बिकको नामबाट प्रकाशित एक आलेखमा सुनिताले आफ्नो स्वास्थ्यस्थिति, आर्थिक अवस्था, उपचारका लागि गरेको विभिन्न प्रयत्नहरू र त्यसपछि नसकेर यसै मृत्यु पर्खन शिवाय कुनै उपाय नभएकाले कम्तिमा आफ्ना दुई साना छोराहरूको भविष्यका लागि अनुनय गरिएको थियो।
राधिका शाक्यले त्यो आलेख पढेको मिति ठ्याक्कै याद थिएन। तर, झुत्रो बोरा जस्तो कपडा ओढेर पल्टिरहेकी सुनिता बिकको दारूण फोटो र त्यसमा लेखिएको उनको दुःखको कथाले भने छोइरह्यो, छोइरहेकै छ।
दयालु मन र सरलपनकी धनी राधिका शाक्यको यो प्रयत्नबाट यतिबेला सुनिताले स्वास्थ्योपचारको सेवा लिएर आउँदो समयका लागि पनि फलोअप तथा औषधि उपलब्धतासहित अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेकी छन्।
तस्बिरः अनलाइनखबर
भारतीय भूमिमा मजदुरी गर्दै आइरहेको प्रकाशले सुनिताको उपचारका लागि ऋण सापटी र सहयोग लिएर स्थानीय मेडिकल, अस्पतालहुँदै विभिन्न स्थानमा स्वास्थ्य परीक्षण गराए। यति गर्दा पनि निको नभएपछि उनले सुनितालाई भारतका केही स्थानमासमेत लगेर उपचार गराए। त्यहाँ डाक्टरहरूले सुनितालाई ‘सिस्टमिक लुपस इरिथिमाटोसस’ नामक रोग लागेको र सम्भवतः यो रोग निको नहुने भनि जानकारी दिएका थिए।
यो रोगले मानव शरीरको प्रायः अङ्गलाई असर गर्ने डाक्टरहरूले बताएका थिए। सुनितालाई सुरूमा आँखामाथि सानो बिबिरा जस्तो घाउले दुःख दिएको थियो। पछि सोही घाउ शरीरका अन्य भागमा फैलिएपछि अङ्गहरू सुन्निने र रक्तश्राव हुने गरेको थियो।
गुल्मी माइत भएकी सुनिताले जन्मिएको १ वर्षमै आमा गुमाइन्। हजुरआमाको काखमा हुर्किएकी उनका लागि अहिले पनि आफन्त भन्नु नै त्यही आँखा नदेख्ने हजुरआमा मात्रै छन्।
१६ वर्षकै उमेरमा बिहे भएकी २४ वर्षिया सुनिताका दुई सन्तान छन्। जेठो छोरा ५ वर्षका भए भने कान्छो ३ वर्षका भए।
हाल उनी श्रीमान प्रकाशका साथ अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ८ (साबिकमा मरेङ गाविस–९) स्थित आफ्नै झुप्रोमा बसिरहेकी छिन् ।
सुनिताको डिस्चार्ज भएर घर फर्केपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई सुनिताको अबको थप उपचार व्यवस्थापनको विषयमा सोध्यौं। ‘मलाई यस्तो कुराले धेरै छुन्छ। हुन त यस्तो घटना यहाँ धेरैको छ, एक, दुई जनाको समाधान गरेर मात्रै हुँदैन। तर पनि सकेसम्म सहयोग गर्नैपर्नेलाई गर्नुपर्छ र गर्ने गर्छु’, उनले भनिन्, ‘मलाई कसैले भनेर होइन, मैले यस्ता घटनाहरू जब आफैंले थाहा पाउँछु, अनि खोजेर सकेको गर्छु। यो घटनामा प्रधानमन्त्रीज्यू बरू म मरे पनि केही छैन, मेरो दुई छोराहरू नमरून् भन्ने कुराले धेरै सतायो। अनि मैले आफ्ना केही सहयोगीमार्फत यसको विषयमा खोजी गर्न लगाएँ।’
बिहिबार मात्रै उनलाई डिस्चार्ज गरेर पठाएको भन्दै उनले सुनिताको रोग निको नहुने नै होइन। तर औषधि लामो समय खाइरहनुपर्ने डाक्टरले भनेको समेत जानकारी दिइन्।
‘उनका श्रीमान प्रकाशको पनि आँखाको उपचार गर्नुपर्ने रहेछ, त्यसको पनि व्यवस्थापन गर्दागर्दै भ्याईएन, फेरि गराउँला। नाबालक छोरा र श्रीमती छाडेर ज्याला मजदुरी गर्न भारततिर किन जानुपर्यो? त्यतै गाउँतिर सानोतिनो काममा लगाउन सके हुन्थ्यो भनेर समन्वय गर्दैछु’, उनले भनिन्, ‘मुख्य कुरा छोराहरूको पढाइको छ। यता काठमाडौंमा राखेर पढाउन सकिन्थ्यो। तर बच्चाले बा आमाको साथ छाड्नुपर्दा मानसिकता र काखमै भइरहेको सन्तानलाई छाड्नुपर्दा बा–आमाको मानसिकतालाई पनि ध्यान दिनुपर्छ, त्यसैले गाउँमै उचित प्रबन्धसहित पढाउने कुराको पनि समन्वय गर्दैछु, हेरौं।’
उनको उपचारका लागि राधिका शाक्यले समन्वय गर्न अनुरोध गरेपछि वीर अस्पतालकै हेपाटोलोजिष्ट डा. दिलिप शर्माले बिरामीको उपचारको व्यवस्थापन गरिदिए। सबै उपचार वीर अस्पतालका नेफ्रोलोजिस्ट एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका असिस्टेन्ट डीनसमेत रहेका डा. अनिल बरालको टोलीले गरे।
डा. दिलिप शर्माका अनुसार उपचारका लागि भारत जाँदा सुनिताको रोगको विषयमा अस्पतालले पत्ता लगाए पनि निदानको विषयमा राम्ररी काउन्सिलिङ नगरेकोले बिरामीको मनोबल अत्यन्तै कमजोर भएको बताए।
भारतमा उपचार गरेको करिब डेढ वर्षपछि भए पनि उनले उपचार पाउन सकेकोमा हामी खुशी रहेको उनले बताए।
उनको उपचारका लागि वीर अस्पतालले दिनसक्ने निःशुल्क सुविधा दिएको र केही महङ्गा परीक्षण तथा औषधि खर्च र अन्य व्यवस्थापकीय खर्च राधिकाले नै गरेको डाक्टर दिलिपले जानकारी दिए।
‘अब पनि बिरामीलाई हुने खर्चमा बिरामीको स्वास्थ्य बीमाबाट मिलेजति मिलाउने, नमिलेमा नेपाल सरकारबाट सहयोग गर्ने भन्ने कुरा भएको छ’, उनले भने।
अहिले सुनितालाई डिस्चार्ज गर्दा २८/२८ दिनमा कम्तिमा ६ महिनासम्म एउटा कडा खालको औषधि सुईमार्फत् दिइरहनुपर्ने र त्यसका लागि काठमाडौं आवतजावत गरिरहन समस्या भएकोले बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाटै उक्त सुविधा लिनेगरी व्यवस्थापन गरिएको जानकारी गराए।
‘यो सुईमार्फत् दिने औषधिलाई पनि राधिका म्याडमले जिम्मेवारी लिनुभएको छ, यसको समन्वय मात्रै हामीले गरिदिएका हौं’, उनले भने, ‘यो सुईले शरीरको रोगलाई नियन्त्रण गर्ने काम गर्छ। ६ महिनापछिको प्रगतिले के कसो हुन्छ, त्यसपछि फेरि एक पटक फलोअपका लागि काठमाडौं ल्याउनुपर्ने हुन्छ।’
यता काठमाडौं र उता गाउँमा दोहोरो सम्पर्क तथा समन्वयमा रहेका तारा फुलेल बिरामी सुनिताका छिमेकी हुन्।
उपचार एवं बच्चाको पठनपाठनका लागि स्थानीय सरकार तथा समाजबाट सरसहयोग भएन भन्ने सन्दर्भमा जिज्ञासा राख्दा उनले सबैले व्यक्तिगत सहयोग उठाएर पचास हजार दिएको। पूनः सहयोगका लागि पहल गरिरहेका बताए।
उनले अहिले यसरी सम्मानीय प्रधानमन्त्रीज्यूको परिवारबाट सिधै सम्पर्क भई काठमाडौंमा उपचारका लागि ल्याउन भन्नुहुँदा धेरै खुशी भयौं। अब यो परिवारको बिचल्ली हुँदैन भन्नेमा धेरै आशावादी छौं।’
यसरी पीडामाथि पीडा थपेर मृत्यु पर्खिरहेकी सुनिताको पीडाको आगोमा शीतल वर्षात् गर्ने मनकारी म्याडम राधिका शाक्यज्यूलाई सलाम! दुःख, अभाव र पीडालाई मनैबाट ग्रहण गर्ने र मनैबाट समाधानमा लाग्ने तपाईँको सोचविचार र सकृयतालाई नमन! सुनिताको स्वास्थ्य लाभको तथा सपरिवारको मंगल कामना!