न्यून दृष्टियुक्त कुसुम भन्छिन्- परिस्थितिले जन्मियो कविता संग्रह {भिडियाे}

जीवन बनिया

काठमाडौं

कुसुम घिमिरे न्यून दृष्टियुक्त हुन्। त्यति मात्र नभएर उनी घाँटी पनि सजिलै चलाउन सक्दिन्।

प्रकृति पनि किन यति धेरै कोही कसैका लागि कठोर बनिदिन्छ। न्यून दृष्टियुक्त  घिमिरेको स्टोरी लेखिरहँदा मेरो मानसपटल वरि-परि यस्तै प्रश्नको ज्वारभाटा चलिरहेका छन्। तर, मनमा हजारौं प्रश्नको ओइरो लगाएर बस्नु छैन। १९ वर्षिय घिमिरेको जीवनमा आएका आरोह-अबरोलाई खोतल्नु छ, अनि कम्प्युटरको किबोर्डमा औँला दौडाउनुछ।

हुन त उनी लोभिजन हुन्। अर्थात केही प्रतिशत आँखा देख्छिन्। काठमाडौंको पद्म कन्या क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत घिमिरे मेजर नेपाली र म्यूजिक लिएर पढिरहेकी छन्।

सुर बाजामा सितारा सिकिरहेकी कुसुमलाई एकान्तमा बस्न र साहित्यमा औधि रूची लाग्छ। आफू लो-भिजन भएकै कारण सिताराका तारहरू सजिलैसँग देख्न नसक्दा कहिलेकाहीँ सिक्न समस्या हुने कुसुमको अनुभव छ।

‘आफूले राम्रोसँग सिताराका तारहरू ठम्याउन नसक्दा गुरूहरूले हात समातेर सिकाउनु हुन्छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्।

भक्तपुरस्थित आफ्नै घरमा बहिनी निलमसँग बस्दै आएकी कुसुमका बाबा ममी दोलखाको मैनापोखरीस्थित आफ्नो पुर्खौली घरमै बस्नुहुन्छ।

पेशाले शिक्षक बुमा ममी त्यहीँको एक स्थानीय स्कुलमा अध्यापन गराउने उनले बताइन्।

जन्मिएको चार महिनामा उनी थला परिन्। उनको टाउकोमा पानी भरियो। त्यसपछि उनका बाबा ममीले उनलाई उपचारका लागि काठमाडौं ल्याए।

कुसुमलाई टिचिङ अस्पतालमा एक महिनासम्म राखेर बाबा ममीले उपचार गराए। त्यतिखेर डाक्टरहरूले टाउकाको अप्रेसन गरे पनि बाँच्ने सम्भावना कमै हुन्छ भनेका थिए रे। यदि ठीक भइहाल्यो भने पनि शरीरको कुनै अंग नचल्न सक्ने जानकारी गराएका थिए।

तर ‘सास रहुन्जेल आस’ भनेझै उनीहरूले भगवान भरोशामा छोरीको अप्रेसन गर्नेर् निर्णय गरे।

नभन्दै अपरेसन सफल भयो। टाउकोदेखि पेटसम्म पाइप राखियो। टाउकोमा भरिएको पानीको असरले नै उनी दुई वर्षमै लो भिजन हुन पुगिन्।

त्यसपछि उनका बाबा ममीले आँखाको उपचारका लागि काठमाडौंको त्रिपुरेश्वरदेखि मुलुकका विभिन्न आँखा उपचार केन्द्रमा जचाए।

जहाँ गए पनि डाक्टरहरूले आँखाको रेटिनामा समसम्या भएकाले उनको भिजन बढ्नुको साटो घट्ने सम्भावना रहेको बताए।

शरीरमा पाइप राखेको भएकाले उनी हरेक दुई-दुई वर्षमा चेक गर्न जाने गर्छिन्। पाइपकै कारण उनी राम्ररी हिँडडुल गर्न पनि सक्दिनन्। घाँटी पनि राम्ररी मोड्न मिल्दैन।

शरीरले जस्तो सुकै शसम्या दिए पनि उनले जीवनबाट हार मानिनन्।  पढ्नमा असाध्यै राम्री उनलाई डाक्टरहरूले साँझ चाडै सुत्ने गर्नु, आँखालाई धेरै दुःख नदिनु भने पनि आमा बाबा सुतिसकेपछि  रातभरी पढेर बस्ने गरेको विगत सुनाइन्।

कम्प्यसटर र वातावरण विज्ञान ऐच्छिक विषय लिएर ९-१० पढेकी उनले २०७१ सालमा दोलखाको हनुमन्तेश्वर विद्यालयबाट फस्ट डिभिजनमा एसएलसी पास गरिन्।

उनले निकै संघर्ष गरेर एसएलसी पास गरिन्। बुबा ममिले सधै उनलाई स्कुल पुर्‍याइदिनुहुन्थ्यो। ब्लाक बोर्डमा सरले लेखिदिएका कुराहरू उनी देख्न सक्दिन थिइन्। उनलाई साथीहरूले नोट सारिदिने गर्थे।

त्यसपछि उनले सोही स्कुलमा १०+२ पढिन्।

साहित्यमा सानैदेखि रूची भएकी उनले २०७४ सालमा ‘फूलबारी’ नामक कविता संग्रह निकालिन्। उक्त विता संग्रहमा ३८ वटा कविता छन्।

साहित्यसँगै संगीतमा रूची राख्ने उनले ४ वर्षको कलिलो उमेरदेखि मादल बजाउन सुरू गरेकी थिइन्। ‘जीवन एक सिक्ने प्रक्रिया हो। जहाँ जे पनि सिक्दै जानुपर्छ’, घिमिरेले भनिन्।

जन्म दिने बाबा ममीलाई प्रेरणाको स्रोत मानेकी उनले बाबा ममीकै प्रेरणाले कविता लेख्न सिकेको र संग्रह निकाल्न सफल भएको बताइन्।

उनको कविता संग्रहमा बालबालिका सम्बन्धि कविताहरू संग्रहीत छन्। दुई महिना भित्रै उनको कविता संग्रह ८ सय थान जति बिक्री भइसकेको थियो।

आफ्नो आँखाले बाहिरि संसार देख्न नसकेपछि उनलाई आफ्नो जीवन व्यर्थ रहेछ, र सभ्भावनाका ढोकाहरू आफ्नो लागि सधैका लागि बन्द भएका हुन् भन्ने सोच्थिन् रे तर काठमाडौं आएर आफूजस्तै दृष्टिविहिन देखिपछि म मात्र संसारमा यस्तो होइनरहेछ भनेर चित्त बुझाइन्।

उनले आफू जस्तै दृष्टिविहिन र पूर्ण दृष्टिविहिन साथीहरू भेटेपछि आफूलाई एक्लोपना लाग्न छोडेको उनले बताइन्।

उनलाई अचेल काठमाडौंको व्यस्त सहर पनि सहज भइरहेको छ।

भक्तपुर नेत्रहिन संघमा काम गरिरहेकी कुसुम आफ्नै कथा संग्रह निकाल्ने तयारीमा लागेकी छन्। यति मात्र नभए फुटकर कविताहरू पनि बेला बेला लेख्ने गर्छिन्।

संगीतमा रूची भएकी उनी बोल्न पनि निकै सिपालु छिन्। उनलाई आगामी दिनको शुभकामना।

प्रकाशित मिति: : 2020-03-12 02:24:19

प्रतिकृया दिनुहोस्