पूर्वसञ्चारमन्त्रीको घरमा भएको बम विष्फोटको जिम्मा विप्लव समूहले लियाे

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विष्फोटको जिम्मा सरकारद्धारा प्रतिबन्धित विप्लव समूहले लिएको छ। बुधबार बिहान बास्कोटाको घरमा रिमोट बम बिस्पोट गराइएको थियो। 

विप्लव समुहले विष्फोटको जिम्मा लिँदै १० बुँदामा कारण खुलाएको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानका अनुसार भक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको घरमा बम विष्फोट हुँदैछ भन्ने सूचना चुहावट भएको थियो। तर कहिले र कहाँ हुन्छ भन्ने कुराको अस्पष्ट थियो।

उनले भने, ‘हामीले नियमित रुपमा कुनै पनि ठाउँमा कुनै पनि प्रकारको घटना हुन्छ भन्ने अनुमान पनि गर्छौं र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको हुन्छ। पूर्वसञ्चारमन्त्री ज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो।’

सुरक्षाका लागि असईको नेतृत्वमा २ प्रहरी खटाइएको भए पनि विस्फोटको समयमा भने १ जना प्रहरी जवानमात्र ड्युटीमा थिए।

यसकारण गराइयो बम विष्फोट

विप्लव समूहले विष्फोटकाे जिम्मा लिँदै निम्न १० बुँदामा कारण खुलाएको छ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।
 

प्रकाशित मिति: : 2020-03-12 00:25:22

प्रतिकृया दिनुहोस्