त्रिविले स्नातक र स्नातकोत्तर तहको परीक्षा नसार्ने

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँगको छलफलपछि यो निर्णय गरिएको बताए। 

‘अहिल्यै परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन। हामीले स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरेका थियौं। मन्त्रायलयबाट तत्काल नरोक्नू भन्ने निर्देशन आएको छ’, नियन्त्रक जोशीले भने। 

उनका अनुसार आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न सङ्कायका परीक्षाको तयारी पूरा भइसकेको छ। परीक्षाका लागि त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ। 

तर भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने परीक्षा सार्न सकिने नियन्त्रक जोशीले बताए।

त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: : 2020-03-11 02:26:26

प्रतिकृया दिनुहोस्