नेपालीलाई कतार प्रवेशमा राेक, अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

कतारस्थित नेपाली दूतावासले अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ ।  

सोमबार दुई नेपालीसहित १४ जनामा कोरोना संक्रमण देखिएपछि दूतावसले साे आग्रह गरेकाे हाे। कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ।

दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ। कोरोना संक्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको  छ।

साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रुपमा दूतावास पुग्नुनपर्ने र सोको जानकारी दूतावासको फोन नम्बर ४४६७५६८१÷४४६७५६८३ ÷४४१७१९६२ मार्फत लिन अनुरोध गरेको छ । यस्तै दूतावासको इमलेमा पनि सम्पर्क गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ । 

कतारमा करिब चार लाखको सङ्ख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्याङ्क छ।

यता कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई आजदेखि अस्थायी रोक लगाएको छ।

बङ्गलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलङ्का र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-10 09:40:18

प्रतिकृया दिनुहोस्