केही महीनाअगाडि काठमाडौं जिल्ला अदालतमा एक जोडी दम्पत्तिको सम्बन्ध विच्छेद भयो। उनीहरूको दाम्पत्य जीवनबाट ८ वर्षकी एक छोरीको जन्म भएको थियो।
सम्बन्धविच्छेद हुँदा आमाको आर्थिकअवस्था कमजोर भएको कारण छोरी बाबुसँगै रहने कानूनी शर्त राखिएको थियो। सम्बन्ध विच्छेदपश्चात अदालत बाहिर आएर ती दम्पती भनाभन गर्देथिए।
नाबालिका छोरीलाई आमाकाे काख प्याराे थियाे। त्यसैले उनी रूँदै आमासँग टासिएकी थिइन्। तर महिला भने छोरीलाई ‘जा बाबु’ सँग भन्दै रूँदै बाबु भएतर्फ घचेट्दै थिइन। बाबु भने सानी नानीलाई आफूतिर तान्दै थिए। बाबुआमाको सम्बन्धविच्छेदको कारण पीडित ती नाबालिकाको तानातानको दृश्यले मेराे मन चस्स दुख्याे।
बाबुआमाको बिग्रिएकाे सम्बन्धको कारण केही महिनाअगाडि फेसबुक र यूट्यूब भरी भाइरल भएको ५ वर्षीय बालिका खुसी कार्कीको तानातान र भनाभनको दृश्य पनि त्यत्तिकै दर्दनाक थियो। बाबुआमाको सम्बन्धविच्छेद भइसकेपश्चात बच्चाको कानूनी संरक्षक को हुने भन्ने लडाईमा अनाहकमा पीडित बनेकी थिइन, खुशी कार्की।
पतिसँगको सम्बन्ध कानूनी रुपमा विच्छेद भइसकेपश्चात आफ्नो ९ वर्षीय नाबालिका छोरीको संरक्षकत्वको लडाईका लागि अदालत धाउन थालेकी नेपाल आर्मीको मेजर पदमा कार्यरत रायमाझी थरकी एक महिलाको कहानी पनि कम पीडादायी छैन।
पतिसँगको सम्बन्धविच्छेद भएसँगै छोरीको संरक्षकत्व र अधिकारको लागि उनले अदालत धाउन थालेकी ४ वर्ष पुरा भएर ५ वर्ष लागिसकेकाे छ। अदालतबाट उनीहरुको सम्बन्धविच्छेद हुँदा छोरीको संरक्षकत्व आमासँगै रहने गरी फैसला भएकाे थियाे। तर, निजका पतिले छोरी आफ्नो संरक्षकत्वमा राखी पाऊ भनी पुन: अदालतमा निवेदन हाले।
काठमाडौं जिल्ला अदालतबाट छोरीको संरक्षकत्व आमा नै हुने र बाबुलाई छोरीसँग भेटघाटको लागि समय आमाले मिलाईदिने आदेश भएकाे थियो। उक्त आदेशमा चित्त नबुझेपछि छोरीको भेटघाट र संरक्षकत्वको विषयलाई लिएर निजका पतिले उच्च अदालत र सम्मानित सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए। रिटमा उनले छोरी जिम्मा लिन पाऊ भनि अर्को मुद्दा दायर गरेका थिए।
माथि उल्लेखित प्रतिनिधि घटनालाई हेर्दै हाम्रो समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको पतिपत्निबीचकाे सम्बन्धविच्छेदले धेरै प्रश्न उठाएकाे छ। अविभावककाे सम्बन्धविच्छेद पश्चात बालबालिकालाई कसरी र कसले संरक्षण गर्ने? उनीहरुबाट जन्मिएका निर्दोष छोराछोरीको अवस्था के हुने? बालमस्तिष्कमा के कस्तो असर पर्छ? उनीहरुको कानूनी हैसियत कस्तो रहेन? भन्ने सन्दर्भमा अभिभावकले सुक्ष्मढंगले साेच्नु आवश्यक भइसकेकाे छ। सम्बन्धविच्छेद गर्नुपूर्व आफूहरूले जन्माएका बच्चाको सामाजिक, आर्थिक र कानूनी पाटोलाई गम्भीर भएर सोच्नु अविभावककाे दायित्व पनि हाे।
नाबालकको सम्बन्धमा भएको कानूनी व्यवस्थाः
पतिपत्निको वैवाहिक सम्बन्धको अन्त्य पश्चात नाबालकको कानूनी हैसियत सम्बन्धमा हाल माैजुदा नयाँ मुलुकी देवानी संहिता २०७४ को दफा ११४ देखि ११८ सम्म कानूनी व्यवस्था भएको पाइन्छ। उक्त व्यवस्थालाई हेर्दा प्रत्येक नाबालकलाई आमाबाबुले संयुक्त रूपमा हेरचाह र स्याहार सम्भार गर्नुपर्ने हुन्छ।
यसरी हेरचाह र स्याहार सम्भार गर्दा आमाबाबुले आफ्नो आर्थिक हैसियत र क्षमताअनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षादीक्षा, खेलकूद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नुपर्ने हुन्छ।
देवानी संहिताको दफा ११५ मा आमा वा बाबुको जिम्मामा रहने व्यवस्था बमोजिम पतिपत्नीको वैवाहिकसम्बन्ध अन्त्य भएकोमा निजबाट जन्मिएको नाबालक देहाय बमोजिम आमा वा बाबुको जिम्मामा रहनेछ भनि नाबालकको उमेरअनुसार निजको संरक्षकत्व र जिम्माको विषय निर्धारण गरेको पाइन्छ।
(क) पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा,
(ख) पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजको जिम्मा, सो बाहेकको अन्य अवस्थामा बाबुको जिम्मा।
त्यसदेखि बाहेक पतिपत्नि बीच सम्बन्धविच्छेद हुँदा वा भिन्न हुँदाका बखत नाबालक जिम्मा लिने सम्बन्धमा छुट्टै सहमति भएकोमा सोही सहमति बमोजिम गर्न सकिने व्यवस्था गरेको छ।
हालको देवानीसंहिताले गरेको नयाँ व्यवस्थाले यदी नाबालकको उमेर दश वर्ष पूरा गरिसकेको भए त्यस्तो नाबालक बाबु वा आमा कसको जिम्मा रहने हो त्यस सम्बन्धमा निर्णय गर्नुपर्दा सम्बन्धित नाबालकको राय लिन सकिनेछ।
यसैगरी आमा वा बाबुमध्ये कुनैको जिम्मामा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्नेछ।
तर, आमाले अर्को विवाह गरिसकेकोमा पाँच वर्ष पूरा भएको नाबालक जिम्मा लिन निजलाई कर लाग्ने छैन।
साथै पतिपत्नि बीच सम्बन्धविच्छेद हुँदा त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्थाको सम्बन्धमा पतिपत्नी बीच कुनै सहमति भएकोमा सोही बमोजिम र त्यस्तो सहमति नभएकोमा देहाय बमोजिम हुनेछः
(क) पाँच वर्ष पूरा नगरेको नाबालक भए आमाको जिम्मा,
(ख) पाँच वर्ष वा सोभन्दा माथि दश वर्ष पूरा नभएको नाबालक भए बाबुको जिम्मा,
(ग) दश वर्ष पूरा गरेको नाबालक भए निजले आमा, बाबुमध्ये जोसँग बस्न मञ्जुर गरेको छ निजको जिम्मा।
त्यसैगरी कानूनले नाबालक जिम्मा लिने सम्बन्धमा आमा र बाबुको आर्थिक हैसियतको आधारमा समेत जिम्मेवारी दिएको पाइन्छ। कुनै आमा वा बाबुको भन्दा जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि त्यस्तो आमा बाबुको सहमति बमोजिमको र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च त्यस्तो नाबालकलाई उपलब्ध गराउनु पर्नेछ भनी तोकेको पाइन्छ।
कानूनले प्रष्टरुपमा भेटघाटको सुविधा पाउने सम्बन्धमा समेत व्यवस्था गरेको छ। कानून बमोजिम वैवाहिकसम्बन्ध अन्त्य भएको वा आमा र बाबु भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिको लागि साथमा रहन दिनु पर्नेछ।
तर त्यसरी भेट गर्न वा साथमा रहन दिँदा नाबालकको हित प्रतिकूल हुने कुनै सम्भावना देखिएमा त्यसरी भेट गर्न वा साथमा रहन दिन रोक लगाउने गरी सम्बन्धित जिल्ला अदालतले आदेश जारी गर्न सक्नेछ।
त्यसै गरी बालबालिकाको हकहितलाई संरक्षण गर्न बनेको नयाँ कानून बालबालिका सम्बन्धी ऐन,२०७५ मा पनि नाबालकको सर्वौत्तम हितलाई हेरेर नाबालक कसको जिम्मा वा संरक्षणमा रहने भन्ने आदेश गर्ने व्यवस्था गरेको छ। साथै बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा आमाबाबुको समान दायित्व हुनेछ। बाबुआमाको सम्बन्धविच्छेद भएको वा अन्य कुनै कारणले अलग बसेको अवस्थामा बालबालिकाको पालनपोषणको खर्च आर्थिक क्षमता अनुसार बाबुआमा दुवैले व्यर्होनु पर्ने छ भन्ने स्पष्ट व्यवस्था गरेको पाइन्छ।
त्यतिमात्र होइन हामीसँग बालबालिकाको हकहित र संरक्षण गर्ने बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय दस्तावेज, नीतिहरु रहेका छन, जसले बच्चाको सर्वोत्तम हितलाई हेरेर बालबालिकाको संरक्षण गरिनु पर्दछ भनी तोकेको पाइन्छ। आमाबाबुको सम्बन्धविच्छेद पश्चात बालबालिका को सँग रहने? कसरी रहने भनी सर्वोच्च अदालतमा परेको थुप्रै मुद्दाको रोहवरमा बालबालिकाको सर्वौत्तम हितलाई ध्यान दिनुपर्ने भनी नजीर समेत कायम भएको अवस्था छ।
अन्त्यमा कुनै पनि पति वा पत्निको सम्बन्धविच्छेद भए पश्चात आफूबाट जन्मिएका नाबालक छोराछोरीको हक अधिकारको संरक्षण गर्नको लागि पतिपत्निले गम्भीर भएर सोच्नु जरूरी छ। मान्छेमा बढ्दै गएको स्वार्थपनले कतिपय अवस्थामा पति पत्निले आफनो सम्बन्धविच्छेद भएसँगै नाबालक छोराछोरीलाई प्रयोग गरेर सम्पत्तिमा सौदाबाजी गर्ने, नाबालकको बालमस्तिष्कमा नै नकारात्मक असर पर्ने गरी झै झगडा गर्ने प्रवृति बढ्दो रूपमा देखिएको पाइन्छ।
आफ्नो स्वार्थको लागि निर्दोष सन्तानको प्रयोग गर्नु हुन्न भन्ने भावना प्रत्येक पतिपत्निमा आउनु जरूरी छ।