चीनसँगका नाका बन्द गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी देश चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमणबाट जाेगिनलाई उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले चीनसँग सीमा जोडिएका हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र मुगुको धो–मोरिम्ला नाका बन्द गर्ने निर्णय गरिएको बताइन्।

काेराेना भाइरसकाे संक्रमणले संसार आतंकित भइरहेकाे बेला कर्णाली प्रदेश सरकारले यस्ताे निर्णय गरेकाे हाे। केसीले सरकारले हात र गला नमिलाउन पनि आम समुदायमा आग्रह गरेको बताइन्। ‘कोरोना भाइरसकाे संक्रमणबाट जाेगिन हात मिलाउने र गला मिलाउने नगर्न आम समुदायमा आग्रह गर्छौं,’ उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भनिन्, ‘काेराेना भाइरसकाे सम्भावित संक्रमणबाट जाेगिन पाँचवटा सिमा नाकामा पाँच हेल्पडेक्स राख्ने निर्णय गरेको छ।’ 

हेल्प डेक्स चीनसँगको सीमा हुम्लाको हिल्सा, प्रदेश पाँचसँगको सीमा सल्यानको कपुरकोट, सुर्खेतको बबई, सुदूरपश्चिमसँगको सीमा सुर्खेतको कुइने र सुर्खेत विमानस्थलमा हेल्पडेक्स र आवश्यक जनशक्तिको व्यवस्था गर्ने निर्णय गरेको छ। 

त्यसैगरी कर्णाली प्रदेश अस्पतालमा क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रदेश सरकारले जनाएकाे छ भने प्रदेशभित्र मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम गर्न पनि रोक लगाइएको छ।

प्रकाशित मिति: : 2020-03-08 01:48:21

प्रतिकृया दिनुहोस्