सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने युवा सात वर्षपछि पक्राउ

सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरेको घटनामा संलग्न रामु गुरुङ ।

घटना भएको लामो समयपछि सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ स्थित चिया पसलबाट उनलाई पक्राउ गरेको हो। गुरुङले २०६९ साल कात्तिक १७ गते बेलुका सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेका थिए। बलात्कार गरेका स्थानीयले देखेपछि उनी भागेका थिए । 

घटना लगत्तै फरार बनेर भारत पुगेका उनी दुई वर्ष अघि मात्रै नेपाल फर्किएको खुलेको छ। भारतबाट फर्किएपछि बेलबारीमा जग्गा दलालीको काम गरिरहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डीएसपी गिरीले बताए। भारतमा रहँदा पञ्जावको प्लाइउड फ्याक्ट्रिमा काम गरेको खुलेको गिरीको भनाइ छ। 

घटना गराएपछि बिहे गरेर घरजम बसाएका उनी अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएको थियो। जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाए पनि गुरुङ पक्राउ परेका थिएनन्। 

जवरजस्ती करणीमा पाँच र सुस्त मनस्थितिकी महिलामाथि करणी गरेकोमा थप पाँच वर्ष गरेर गुरुङ विरुद्ध १० वर्ष कैद सजायको फैसला अदालतले गरेको थियो। 

घटनापछि पक्राउ पर्ने डरले भारत पुगेको र नेपाल फर्किएर जग्गा दलाली गर्दै .गर्दा पक्राउ गरिएका गुरुङलाई आइतबार जिल्ला अदालत मोरङमा पेस गरिने डीएसपी गिरीले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-03-07 22:59:51

प्रतिकृया दिनुहोस्