निर्भयाका चारै दोषीलाई २० मार्चमा मृत्युदण्ड दिइने

निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ। दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ।

यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ। 

यसअघि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गराउनका लागि पटियाला हाउस कोर्ट पुगेको थियो। एडिशनल सेशन जज धर्मेन्द्र राणाले चारै दोषीलाई नोटिस जारी गर्दै बिहिबारसम्म जवाफ मागेका थिए।

यसअघि सर्वोच्च अदालतले सोमबार क्यूरेटिव पिटिशन खारेज गरेलगत्तै पवनले राष्ट्रपतिलाई दया याचिका पठाए। यसै आधारमा ट्रायल कोर्टले दोषीको मृत्युदण्ड तेस्रो पटक स्थगित गरेको थियो।  

यस्तै दोषीका वकिल एपी सिंहले चार पटक डेथ वारेन्ट जारी भइसकेको बताउँदै दोषीलाई थुप्रै पटक मारिसकिएको बताए। उनले भने, ‘कम्तीमा न्यायिक हत्या त नगर’। 

‍अदालतको निर्णय पछि निर्भयाकी आमाले भनिन्, ‘मलाई आशा छ कि यो अन्तिम मिति हुनेछ र दोषीलाई २० मार्चमा नै मृत्युदण्ड दिइनेछ। जबसम्म मृत्युदण्ड हुँदैन, हामी लडिरहन्छौं। दोषीले मृत्युदण्ड रोक्न पूर्ण कोसिस गरिरहेका छन्। २० मार्चको बिहान हाम्रो जीवनको पनि बिहानी हुनेछ।’

प्रकाशित मिति: : 2020-03-06 23:57:52

प्रतिकृया दिनुहोस्