भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने भएका छन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा सिंहले नेपाल भ्रमण गर्न लागेका हुन्।
बिहीबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरी उनले सिंह नेपाल आउन लागेकाे जानकारी दिए।
भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले आफूले गत हप्ता भारतका रक्षामन्त्री सिंहलाई नेपाल भ्रमणको निम्ता पठाएको स्मरण गर्दै भारतका रक्षामन्त्रीबाट नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे।
भारतका रक्षामन्त्रीलाई नेपाल भ्रमणको लागि पठाइएको निमन्त्रणाका लागि कृतज्ञता व्यक्त गर्दै राजदूत क्वात्राले भारतका रक्षामन्त्रीबाट यथाशीघ्र नेपाल भ्रमण हुने व्यवस्था मिलाउन आफूले आवश्यक पहल गर्ने जनाएको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए।
शिष्टाचार भेटको प्रारम्भमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै दुई देशबीच सांस्कृतिक, भौगोलिक, ऐतिहासिक र जनस्तरमा समेत अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो। उहाँले दुई मुलुकबीच रहेको बहुआयमिक सम्बन्धलाई समयको परिवर्तनसँगै थप परिमार्जन गरी सुदृढ बनाउँदै जानुपर्ने खाँचो रहेकामा जोड दिए।
नेपाल र भारतका सेनाबीच अत्यन्त असल र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा भारत सरकारले पु¥याउँदै आएको सहयोगका लागि आभार व्यक्त गरे। राजदूत क्वात्राले नेपाल भारतबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र नभएर जनस्तरसम्म समेत अत्यन्त सुदृढ रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सुमधुर, मैत्रीपूर्ण र पारस्परिक सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउन सक्दो पहल गर्ने बताए।